बैतडी, २ असोज – पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध भएको छ। दोगडाकेदार गाउँपालिका–५ सलसेनामा आज बिहान पहिरो खसेको हो।
पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो। सडकमाथिबाट खसेको पहिराले राजमार्ग ठप्प भएकोले दार्चुलाका लागि छुटेका गाडी र दार्चुलाबाट छुटेका गाडीहरू बीच बाटोमै रोकिएका छन्।
राजमार्ग खोल्न सडक डिभिजन कार्यालय र स्थानीय निकायसँग समन्वय भइरहेको प्रहरी नायव उपरीक्षक रायले बताउनुभयो। यसअघि पनि मङ्गलबार पहिरोका कारण उक्त राजमार्ग अवरुद्ध भएको थियो।


