म्याग्दी, २१ असोज — म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुवारीमा गएको ठूलो पहिरोका कारण कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक खण्डमा यातायात सेवा अवरुद्ध भएको छ।
बेनी–जोमसोम सडक म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङसम्म पुग्ने प्रमुख राजमार्ग हो, जसले हिमालपारीको पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गमार्फत चीन र भारतसँग जोड्छ।
कालीगण्डकी नदी किनारदेखि भगवतीको माझखर्कसम्मको भूभागमा जमिन फाटेर पहिरो खस्दा बीचको सडकखण्डमा सवारीसाधन चलाउन कठिनाइ भएको छ। यातायात व्यवसायी भोजबहादुर थापाका अनुसार सिरुवारी र खामभित्तामा पहिरो झरेपछि सडक साँघुरो, हिलाम्मे र जोखिमपूर्ण बनेको छ।
“सामान्य वर्षा हुँदा पनि पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्या दोहोरिन्छ,” थापाले भने, “सवारीसाधन गुडिरहेको बेलामै माथिबाट ढुंगा खस्ने खतरा हुने भएकाले सावधानी अपनाएर मात्र यातायात सञ्चालन गरिरहेका छौं।”
सडकमुनी कालीगण्डकी नदी बगिरहेको र करिब ८०० मिटर माथिदेखि दुई सय मिटर चौडाइसम्मको पहिरोले पाखोलाई असुरक्षित बनाएको जनाइएको छ। यसले माझखर्क बस्तीलाई पनि जोखिममा पारेको छ। चीनको कोरला नाकातर्फ सामान लैजाने ठूला कन्टेनरहरू पनि यही सडक प्रयोग गर्ने भएकाले सडक अवरुद्ध हुँदा आपूर्तिमा समेत असर परेको छ।
मुस्ताङ जाने यात्रुवाहक बस र गाडीहरू सिरुवारी पहिरो क्षेत्रमा जाम हुने गरेको रघुगङ्गा गाउँपालिका–१ का वडा सदस्य बलमान गौचनले बताए। उनका अनुसार सडक साँघुरो भएकाले पहिरो क्षेत्रमा दुईतर्फी सवारी सञ्चालन गर्न नसकिने अवस्था छ।
यो वर्षको मनसुनयाममा बेनी–जोमसोम सडक सबैभन्दा धेरै सिरुवारी र खामभित्तामा अवरुद्ध भएको छ। बेनी–जोमसोम–कोरला सडक आयोजनाले पहिरो पन्छाउने कामका लागि डोजर र लोडर तयारी अवस्थामा राखेको छ।
आयोजनाका इञ्जिनियर बिष्णु चापागाईका अनुसार वर्षा रोकिएलगत्तै पहिरो पन्छाएर सडक सफा गर्ने र दुईतर्फी सवारी सञ्चालन सुचारु गर्ने तयारी भइरहेको छ। “सिरुवारीमा ठूलो पहिरो भएकाले दीर्घकालीन रोकथामका लागि अध्ययन भइरहेको छ,” उनले भने, “हाललाई अस्थायी मर्मत गरेर सवारी सञ्चालन भइरहेको छ।”
उनका अनुसार बेनी–जोमसोम सडकखण्डका चमेरे, बैसरी, गुइठेभिर र लाटाखोला क्षेत्रमा पहिरो रोकथाम तथा रुप्से आसपासको प्रभावित क्षेत्रमा सडक ढलान निर्माणका लागि ठेक्का सम्झौताको तयारी पनि भइरहेको छ।


