Friday, May 8, 2026
Homeसामाचारपश्चिम एसिया तनावपछि फसेका नेपाली गन्तव्यतर्फ फर्किँदै, अधिकांश सुरक्षित

पश्चिम एसिया तनावपछि फसेका नेपाली गन्तव्यतर्फ फर्किँदै, अधिकांश सुरक्षित

काठमाडौं । पश्चिम एसिया क्षेत्रमा विकसित तनावका कारण गन्तव्यमा पुग्न नसकी विभिन्न मुलुकमा फसेका नेपाली नागरिक अवस्था केही सहज बन्दै गएपछि क्रमशः आफ्ना गन्तव्यतर्फ लाग्न थालेका छन्।

सुरुमा दोहा, दुबई, जेद्दा र कुवेत सिटीमा बढी समस्या देखिएको थियो। हाल दोहा र दुबईमा सीमित रूपमा हवाई उडान सुरु भएपछि त्यहाँ ट्रान्जिटमा रहेका नेपालीहरू गन्तव्यतर्फ प्रस्थान गरेका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार जेद्दामा समस्यामा परेका ५२ जना हजयात्रीहरू चैत ५ गते स्वदेश फर्किएका छन्। कुवेत सिटीमा समस्यामा परेका ५२ जनामध्ये बाँकी ३३ जनालाई चैत ४ गते साउदी अरेबियाको भिसा मिलाएर गन्तव्यतर्फ पठाउने व्यवस्था गरिएको छ।

मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत पश्चिम एसियाको पछिल्लो अवस्था तथा त्यहाँ रहेका नेपालीहरूको सुरक्षा र सहयोगबारे जानकारी दिएको हो। पश्चिम एसियामा तनाव सुरु भएको २१ दिन बितिसकेको छ। तनाव कम गर्न प्रयास भइरहे पनि गल्फ कोअपरेशन काउन्सिल (जीसीसी) सदस्य मुलुकहरू लक्षित ड्रोन तथा मिसाइल आक्रमण जारी रहेको जनाइएको छ।

मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्री पौडेलका अनुसार हालसम्म यूएईमा एक जना नेपालीको मृत्यु भएको छ भने २० जना सामान्य घाइते भएका छन्। घाइतेमध्ये एक जनाबाहेक सबै उपचारपछि घर फर्किसकेका छन् भने अस्पतालमा रहेका एक जना पनि खतरामुक्त अवस्थामा छन्। अन्य सबै मुलुकमा रहेका नेपालीहरू सुरक्षित रहेको मन्त्रालयले जनाएको छ।

सचिवको संयोजकत्वमा विभिन्न निकायका प्रतिनिधि सम्मिलित आपत्कालीन प्रतिकार्य समूह गठन गरिएको छ र उक्त समूहको तेस्रो बैठक सम्पन्न भइसकेको छ। साथै मन्त्रालयमा स्थापना गरिएको आपत्कालीन नियन्त्रण कक्ष २४सै घण्टा सञ्चालनमा रहेको छ।

कन्सुलर सेवा विभागले विवरण संकलनका लागि खोलेको अनलाइन फाराममा शुक्रबारसम्म ८२ हजार १०० नेपालीले दर्ता गराएका छन्। आपत्कालीन नियन्त्रण कक्षमा हालसम्म ७८ वटा कलसहित १७० पटक सम्पर्क भएको मन्त्रालयले जनाएको छ, जसमा अधिकांश प्रश्नहरू सुरक्षा र श्रम स्वीकृतिसँग सम्बन्धित रहेका छन्।

यसैबीच, त्रास फैलाउने उद्देश्यले फोटो, भिडियो वा अन्य सामग्री निर्माण तथा साझेदारी गर्ने सात जना नेपाली पक्राउ परेका छन्। मन्त्रालयले संकटको समयमा सम्बन्धित देशका कानुन तथा सुरक्षा निर्देशनहरूको पालना गर्न सबैलाई आग्रह गरेको छ। उल्लंघन गरेमा जरिवाना, जेल सजाय वा डिपोर्ट हुनसक्ने चेतावनी दिइएको छ।

नेपालले मार्च १ मा जारी वक्तव्यमार्फत द्वन्द्वरत पक्षहरूलाई संयमता अपनाउन, अन्तर्राष्ट्रिय कानुनको पालना गर्न र नागरिक सुरक्षामा ध्यान दिन आग्रह गरेको थियो।

मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुख रामकाजी खड्काका अनुसार नेपालका १० वटै नियोगमा हटलाइन सञ्चालनमा राखी समस्यामा परेका नेपालीहरूको विवरण संकलन र आवश्यक समन्वय भइरहेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका