काठमाडौं । हाल देशमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेको छ। यसको असरका कारण देशका विभिन्न भागमा बदली, वर्षा र हावाहुरीको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
हाल कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने मधेश प्रदेशमा आंशिक बदली र बाँकी तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहेको छ। कोशी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा तथा मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि रहेको मौसम पूर्वानुमानमा उल्लेख छ।
यस्तै, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो दिन रहने सम्भावना रहेको छ।
आज राति देशभर सामान्य बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ।
यसैगरी, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भूभागसहित अन्य तराई क्षेत्रका केही स्थानमा हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।