काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको छ। यसका कारण केही प्रदेशमा मौसम आंशिक बदली भएको छ भने तराईका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारण बदली रही बाँकी पहाडी भू–भागमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै, तराईका धेरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने जनाइएको छ।
आज राति भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहँदा तराईका केही स्थानमा हुस्सु रहनेछ।


