आज दिउँसो कोशीसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।
महाशाखाका अनुसार कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थान, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थान तथा मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि रहेको छ।
यसैगरी मधेश प्रदेश र कोशी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही भूभागमा तापक्रम बढ्न सक्ने सम्भावना रहेकोले गर्मी बढ्ने अनुमान गरिएको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ। कर्णाली प्रदेशको हिमाली भूभाग तथा मधेश प्रदेशमा आंशिक बदली रहने मौसम पूर्वानुमान गरिएको छ भने बाँकी पहाडी तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। केही उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
तराईका केही स्थानमा रातिको समयमा पनि हावाहुरी चल्न सक्ने सम्भावना रहेको छ।


