Wednesday, May 13, 2026
Homeसामाचारपश्चिमी प्रणाली सक्रिय: आज पनि देशभर वर्षा, हिमपात र चट्याङको सम्भावना

पश्चिमी प्रणाली सक्रिय: आज पनि देशभर वर्षा, हिमपात र चट्याङको सम्भावना

काठमाडौं । नेपालमा अहिले पश्चिमी न्यूनचापीय प्रणालीसँगै स्थानीय वायूको प्रभाव कायम रहेको छ। यसको असरले देशका विभिन्न क्षेत्रमा बदली, वर्षा तथा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने बाँकी क्षेत्रमा आंशिक बदली देखिएको छ। बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

बुधबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ भने अन्य भू–भागमा आंशिक बदली रहने अनुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा अन्य हिमाली र पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने सम्भावना रहेको छ। तराईका केही क्षेत्रमा पनि वर्षाको सम्भावना छ।

सुदूरपश्चिम प्रदेशका केही पहाडी तथा तराई जिल्लामा हावाहुरी, असिना र चट्याङसहित मौसम प्रतिकूल हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

आज राति पनि देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा बदली कायम रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका