Wednesday, June 17, 2026
Homeसामाचारपश्चिमी न्यून चापीय रेखाको प्रभाव: पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको...

पश्चिमी न्यून चापीय रेखाको प्रभाव: पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईका केही क्षेत्रमा गर्मी बढ्ने

काठमाडौं । नेपालमा हाल उपल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यून चापीय रेखासँगै स्थानीय तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार अहिले देशका हिमाली तथा पहाडी भूभागमा, साथै गण्डकी र बागमती प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहेको छ। अन्य तराई क्षेत्रमा भने मौसम मुख्यतः सफा छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुन सक्ने विभागले जनाएको छ।

त्यसैगरी, कोशी प्रदेशको तराईका केही स्थान तथा मधेश प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने केही स्थानमा तातो दिनको अवस्था रहने सम्भावना रहेको विभागको पूर्वानुमान छ।

आज राति पनि हिमाली र पहाडी भूभाग तथा कोशी प्रदेशको तराई क्षेत्रमा साधारणतया बदली रहनेछ भने अन्य तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा बागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेशको तराईका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने विभागले जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका