काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली भू–भागमा अधिकांश स्थानमा बादल लाग्नेछ भने पहाडी भू–भागमा सामान्यदेखि आंशिक बदली रहनेछ। तराई क्षेत्रमा पनि आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र हिमाली क्षेत्रका केही स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ। तराईका थोरै स्थानमा पनि यस्तै खालको मौसमको प्रभाव देखिन सक्ने महाशाखाले जनाएको छ। उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना समेत रहेको छ।
आज राति भने हिमाली भू–भागमा सामान्य बदली रहनेछ भने पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा तथा अन्य हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।


