पर्सा । पर्सा राष्ट्रिय निकुञ्जले घाइते तथा जोखिममा परेका वन्यजन्तुको तत्काल उद्धारका लागि आफ्नै ‘वाइल्डलाइफ रेस्क्यु टिम’ गठन गरेको छ ।
यसअघि निकुञ्ज क्षेत्रमा वन्यजन्तु घाइते हुँदा उद्धारका लागि चितवन राष्ट्रिय निकुञ्जबाट टोली बोलाउनुपर्ने अवस्था थियो । तर, वैशाखको पहिलो सातादेखि पर्सा राष्ट्रिय निकुञ्जमै उद्धार टोली सञ्चालनमा आएपछि वन्यजन्तुको उद्धार र उपचार कार्य छिटो तथा प्रभावकारी बनेको निकुञ्जले जनाएको छ ।
निकुञ्जका सूचना अधिकारी सन्तोषकुमार भगतका अनुसार नयाँ टोली गठन भएपछि घाइते वन्यजन्तुको उद्धारमा सहज भएको छ ।
“पहिले चितवनबाट टोली ल्याउनुपर्ने भएकाले समय लाग्थ्यो,” उनले भने, “अहिले आफ्नै टोली हुँदा तत्काल उद्धार सम्भव भएको छ ।”
उनका अनुसार उद्धार टोलीमा पशु चिकित्सक, प्राविधिक र सवारी चालकसमेत सहभागी छन् । आवश्यकता अनुसार टोली बारा, पर्सा, रौतहट र मकवानपुरसम्म पुगेर उद्धार कार्य गर्दै आएको छ ।
निकुञ्जका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म एक वटा पाटेबाघ, छ वटा चित्तल र एक सय वटा गोमन सर्पको उद्धार गरिएको छ ।
त्यस्तै, २५ वटा किंग कोब्रा, १५ वटा अजिङ्गर, एक वटा सालक तथा अन्य तीन वटा वन्यजन्तुको उद्धार गरी उपचारपछि प्राकृतिक वासस्थानमा फर्काइएको निकुञ्जले जनाएको छ।


