काठमाडौं । विशेष अदालतले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, पर्साका अधिकृत (आठौँ तह) कमल राज गौतमविरुद्ध दायर भ्रष्टाचार मुद्दामा साक्षी प्रमाण बुझ्ने आदेश दिएको छ।
आइतबार विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, उमेश कोइराला र विदुर कोइरालाको इजलासले साक्षी प्रमाण बुझ्ने आदेश दिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकृत गौतमले २०५५ सालदेखि २०७९ सालसम्म पदमा रहँदा २ करोड ५१ लाख ७८ हजार रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो।
अभियोगपत्रअनुसार गौतमको वैधानिक कुल आय २ करोड ८९ लाख रुपैयाँ देखिएको छ। तर घर निर्माण, जग्गा खरिद, सवारी साधन, ऋण भुक्तानी, शेयर खरिद, बैंकमार्फत लगानी, सुन खरिद तथा बीमालगायत शीर्षकमा ५ करोड ४० लाख रुपैयाँ खर्च तथा लगानी भएको देखिएको उल्लेख गरिएको छ।
साढे २ करोड रुपैयाँभन्दा बढी अवैधानिक रकम देखिएपछि अख्तियारले सो रकम जफतसहित ३ वर्षसम्म कैद सजायको मागदाबी गर्दै मुद्दा दायर गरेको थियो।


