गण्डकी: पर्यटन राजधानी पोखरामा पहिलोपटक त्रिदेशीय पर्यटन प्रदर्शनी नाइस–२०२५ (नेपाल–इण्डिया–चाइना) आजदेखि सुरु भएको छ। भारत र चीनबाट बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले सुरु गरिएको यो प्रदर्शनी तीन दिनसम्म सञ्चालन हुनेछ।
पर्यटन क्षेत्रका ८० क्रेता, ७० बिक्रेता, ७५ अन्तर्राष्ट्रिय प्रतिनिधि तथा ६०० भन्दा बढी सहभागी रहेको यो प्रदर्शनी प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टर, नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषद्, तथा अन्य सरकारी र निजी साझेदार संस्थाको सहकार्यमा आयोजित गरिएको हो।
प्रदर्शनीले नेपाल, भारत, र चीनका सरकारी तथा निजी क्षेत्रका पर्यटन सरोकारवालालाई एउटै मंचमा ल्याई व्यावसायिक सञ्जाल विस्तार गर्ने, अनुभव आदान–प्रदान गर्ने, र व्यापारिक अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ।
पोखरा, प्राकृतिक सौन्दर्यका कारण पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गएको छ। समुद्री सतहदेखि ८२२ मिटरको उचाइमा अवस्थित यो शहर तालहरूको नगरीका रूपमा परिचित छ। यहाँबाट विश्वका १४ अग्ला चुचुरामध्ये तीन— धौलागिरी, अन्नपूर्ण–१, र मनास्लु हिमालको दृश्यावलोकन गर्न सकिन्छ।
‘नाइस फर माइस एण्ड मोर’ नाराका साथ आयोजना गरिएको यो प्रदर्शनीले पोखरालाई साहसिक पर्यटन गन्तव्य मात्र नभई बैठक, सम्मेलन, विवाह, उत्सव, महोत्सव, प्रदर्शनी (MICE Tourism) का लागि पनि उत्कृष्ट गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।
पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत (CEO) सुरेशसिंह बुडालले भारत र चीनजस्ता ठूला पर्यटन बजारमा नेपालको पर्यटन सम्भावना र व्यापारिक अवसरहरू प्रवर्द्धन गर्न यो प्रदर्शनी महत्वपूर्ण हुने बताउनुभयो।
प्रदर्शनीको दोस्रो दिन फागुन १३ गते ‘द नलेज फोरम’ मा ‘भिसा डेस्टिनेसन इनसाइट्सः सपोर्टिङ द टुरिजम इकोसिस्टम टु सस्टेनेबल हस्पिटालिटी फ्रम कन्स्ट्रक्सन टु अपरेसन’ विषयमा पर्यटन विशेषज्ञहरूले विचार आदान–प्रदान गर्नेछन्। साथै, B2B प्रदर्शनी, व्यावसायिक बैठक, र सञ्जाल विस्तारका सत्रहरू आयोजना हुनेछन्।
भारत र चीनबाट नेपाल आउने पर्यटकको संख्या बढाउने लक्ष्यका साथ आयोजना गरिएको यो प्रदर्शनीले पर्यटन प्रवर्द्धनका साथै त्रिदेशीय व्यापारिक सहकार्यलाई मजबुत बनाउने विश्वास गरिएको छ। नेपाल, भारत, र चीनबीचको पर्यटन, व्यापार, र सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउने लक्ष्य राखिएको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले बताउनुभयो।
“यो विशेष प्रदर्शनी क्षेत्रीय सहकार्य र समृद्धिको सेतु बन्नेछ,” उहाँले भन्नुभयो, “व्यापार, पर्यटन, र साझेदारीलाई सुदृढ बनाउन सबैको साथ र सहभागिता अपरिहार्य छ।”
पोखराको पर्यटन प्रवर्द्धनका लागि नाइस–२०२५ विशेष महत्वको हुने पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताउनुभयो। “यस प्रदर्शनीले पोखराको पर्यटन सम्भावनालाई अझ उजागर गर्नेछ र नेपाल, भारत, चीनबीचको पर्यटन साझेदारीका लागि महत्वपूर्ण उपलब्धि बन्नेछ।”


