काठमाडौं: परराष्ट्रमन्त्री आरजु राणा र लक्जमबर्गका उपप्रधानमन्त्री तथा विदेश र वैदेशिक व्यापारमन्त्री जेभियर बेटेलबीच भेटवार्ता भएको छ।
लक्जमबर्ग सिटीमा भएको भेटमा नेपाल र लक्जमबर्गबीचका विविध सम्बन्ध, आपसी हित र सहकार्यका क्षेत्र बारे चर्चा भएको बताइएको छ। नेपालका विकास प्राथमिकता र नेपाल-लक्जमबर्ग आर्थिक सहकार्यका विषयमा भेटका क्रममा उनीहरूबीच छलफल भएको हो।
सो क्रममा मन्त्री राणाले नेपाल सन् २०२६ मा एलडिसीबाट ग्राजुएट हुन लागेको बताउँदै त्यसपछिको अवस्थामा नेपाललाई आर्थिक र प्राविधिक सहयोगका लागि आग्रह गरेकी थिइन्। उनको आग्रहमा बेटेल सकारात्मक रहेको बताइएको छ।
भेटमा दुवै पक्षले विश्वव्यापी तापमान वृद्धिका कारण भइरहेका जलवायु परिवर्तनको असरका बारेमा पनि चर्चा गरेका छन्।