जेनेभा (स्वीट्जरल्याण्ड): परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र अजरबैजानका विदेश राज्यमन्त्री एलनुर ममादोभबीच आज जेनेभामा द्विपक्षीय भेटवार्ता भएको छ।
संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा सहभागिताका क्रममा उहाँहरूबीच साइडलाइन बैठक भएको मन्त्री देउवाको सचिवालयले जनाएको छ।
भेटवार्तामा द्विपक्षीय हित र आपसी चासोका विषयमा छलफल भएको थियो। मन्त्री डा. देउवाले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय २९औँ सम्मेलन (COP29) सफलतापूर्वक आयोजना गरेकोमा अजरबैजानलाई बधाई ज्ञापन गर्नुभयो।
नेपाल र अजरबैजान नाम (NAM) र जी–७७ समूहका सदस्यका रूपमा विकासशील देशहरूको साझा मुद्दा अन्तर्राष्ट्रिय मञ्चहरूमा उठाउँदै आएको मन्त्री देउवाले बताउनुभयो।
जलवायु परिवर्तनका क्षेत्रमा अजरबैजानको प्रतिबद्धताको प्रशंसा गर्दै, उहाँले दुवै देशले विकासशील राष्ट्रहरूमा जलवायु परिवर्तनका प्रभावबारे अन्तर्राष्ट्रिय स्तरमा संयुक्त रूपमा आवाज उठाउने प्रतिबद्धता जनाउनुभयो।
साथै, मन्त्री देउवाले नेपालले आगामी मे महिनामा ‘सगरमाथा संवाद’ कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको जानकारी दिँदै, उक्त सम्मेलनमा अजरबैजानलाई उच्चस्तरीय सहभागिताका लागि आमन्त्रण गर्नुभयो। यो संवाद जलवायु परिवर्तन, हिमाल, र मानवताको भविष्यबारे अन्तर्राष्ट्रिय बहसलाई केन्द्रित गर्ने लक्ष्यसहित आयोजना गरिँदैछ।


