Saturday, November 7, 2026
Homeसामाचारपतञ्जलि जग्गा प्रकरणः माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा मिसिल झिकाउन विशेष अदालतको आदेश

पतञ्जलि जग्गा प्रकरणः माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा मिसिल झिकाउन विशेष अदालतको आदेश

काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित दर्ता भ्रष्टाचार मुद्दामा विशेष अदालतले मिसिल झिकाउने आदेश दिएको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदिआआ) ले यसअघि अनुसन्धान गरी तामेलीमा राख्ने निर्णय गरेको फाइल झिकाउन आदेश दिएको हो।

अदिआआको तामेली निर्णयसम्बन्धी फाइल प्राप्त भएपछि आगामी माघ १४ गतेदेखि अर्को सुनुवाइका लागि पेसी तोकिएको विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिए।

अदिआआले पतञ्जलि जग्गा प्रकरणमा माधव नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। आयोगले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो असुल तथा जरिवाना र सजायको मागदाबी गरेको छ।

अभियोग अनुसार तत्कालीन प्रधानमन्त्रीको हैसियतमा नेपालले पदको दुरुपयोग गर्दै सरकारी सार्वजनिक सम्पत्ति व्यक्तिगत तथा संस्थागत स्वार्थमा हस्तान्तरण गराएको र भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको आरोप छ।

नेपाल नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले २०६६ फागुन ६ गतेको बैठकबाट पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा कारोबारको स्वीकृति दिएको तथा २०६६ माघ १८ गते ठाडो आदेशमार्फत हदबन्दीभन्दा बढी जग्गा बिक्री र सट्टापट्टा गर्न दिलाइएको दाबी अभियोगपत्रमा गरिएको छ।

३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा गैरकानुनी रूपमा बिक्री तथा हिनामिना भएको आरोपमा ९३ जनाविरुद्ध मुद्दा दायर भएको हो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका