Saturday, January 18, 2025
Homeसामाचारन्यायाधीशको सरुवा हुँदा १५ दिनदेखि अदालतमा मुद्दा सुनुवाइ कार्य स्थगित

न्यायाधीशको सरुवा हुँदा १५ दिनदेखि अदालतमा मुद्दा सुनुवाइ कार्य स्थगित

पर्वत: जिल्ला अदालत पर्वतमा कार्यरत न्यायाधीश सरुवा भएसँगै चालु अवस्थामा रहेका मुद्दाहरू विगत १५ दिनदेखि सुनुवाइ प्रभावित भएका छन्। जिल्ला अदालतमा कार्यरत न्यायाधीश विद्याराज पौडेल पुस १२ गते सरुवा भएका थिए। सो दिनदेखि अदालतमा रहेका मुद्दाहरूको सुनुवाइ हुन सकेको छैन।

पौडेलको स्थानमा अछामबाट प्रकाश ढुङ्गाना सरुवा भएका छन्। तर, नयाँ न्यायाधीश ढुङ्गाना हालसम्म कार्यक्षेत्रमा उपस्थित नभएकाले दैनिक मुद्दा सुनुवाइ रोकिएको पर्वत जिल्ला अदालतका श्रेस्तेदार वीरेन्द्रप्रकाश खड्काले जानकारी दिएका छन्।

यौन दुर्व्यवहार घटनाकी पीडित एक महिलाले पटकपटक मुद्दा सुनुवाइ नहुँदा समयमा न्याय नपाएको गुनासो गरेकी छन्। २०८१ वैशाखमा भएको यौन दुर्व्यवहार घटनाका सम्बन्धमा ती महिलाको मुद्दा अदालतमा प्रक्रियागत रूपमा चलिरहेको छ। आरोपित पुर्पक्षका लागि थुनामा रहे पनि मुद्दा नौपटकसम्म इजलासमा पेश भएको तर छपटक विविध कारणले स्थगित भएको र दुईपटक मात्र आदेश जारी भएको अदालतको तथ्याङ्कले देखाएको छ।

न्यायका लागि अदालतमा आएका सर्वसाधारणहरू मुद्दा सुनुवाइ प्रक्रिया बारम्बार स्थगित हुँदा र समयमा मुद्दा फछ्र्योट हुन नसक्दा समस्यामा परेका छन्।

पर्वत जिल्ला अदालतमा न्यायाधीशको एउटा मात्र दरबन्दी रहेको छ। हाल न्यायाधीश नहुँदा दैनिक चारदेखि आठवटासम्म मुद्दाको सुनुवाइ स्थगित हुने गरेको छ। यद्यपि, सामान्य थुनछेक आदेशको काम भने नरोकिएको श्रेस्तेदार खड्काले बताए।

जिल्ला अदालतमा आर्थिक लेनदेनसँग सम्बन्धित मुद्दा तथा देवानी मुद्दाहरूको सङ्ख्या पछिल्लो समय बढ्दो रहेको उनले जानकारी दिएका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका