Tuesday, June 2, 2026
Homeअन्तराष्ट्रियनोबेल विजेता नरगिस मोहम्मदीलाई सात वर्षभन्दा बढी जेल सजाय

नोबेल विजेता नरगिस मोहम्मदीलाई सात वर्षभन्दा बढी जेल सजाय

काठमाडौं । इरानको क्रान्तिकारी अदालतले नोबेल शान्ति पुरस्कार विजेता तथा मानव अधिकारकर्मी नरगिस मोहम्मदीलाई “राज्य विरुद्ध षड्यन्त्र” र “प्रचार” गरेको आरोपमा दोषी ठहर गर्दै सात वर्षभन्दा बढी जेल सजाय सुनाएको छ। उक्त जानकारी उनका वकिलले दिएका छन्।

अदालतले उनलाई दुई वर्ष आन्तरिक निर्वासन र यात्रा प्रतिबन्ध समेत लगाएको छ। मोहम्मदी फेब्रुअरीदेखि भोक हडतालमा रहेको बताइएको छ। उनी सन् २०२२ मा महसा अमिनीको मृत्युपछि सुरु भएको विरोध प्रदर्शनको मुखर समर्थक रहेकी थिइन्।

यसअघि मोहम्मदीले १३ वर्ष जेल जीवन बिताएकी थिइन्। स्वास्थ्य समस्याका कारण उनी अस्थायी रूपमा रिहा भएकी थिइन्। पछिल्लो सजायप्रति विभिन्न मानव अधिकार संगठनहरूले निन्दा जनाएका छन्। यो निर्णय इरानले आफ्नो आणविक कार्यक्रमका विषयमा संयुक्त राज्य अमेरिकासँग वार्ता गरिरहेका बेला आएको हो।

मोहम्मदीलाई सन् २०२३ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो। उनी उक्त पुरस्कार पाउने दोस्रो इरानी महिला हुन्। इरानमा महिलामाथि हुने हिंसा र राजनीतिक बन्दीहरूमाथि हुने दुर्व्यवहारविरुद्ध आवाज उठाएको योगदानका लागि उनलाई सम्मान गरिएको थियो। उनले इरानमा मृत्युदण्डको विरोधमा समेत सक्रिय रूपमा बोल्दै आएकी छिन्।

नोबेल समितिका प्रमुखले उनलाई “स्वतन्त्रता सेनानी” को रूपमा उल्लेख गरेका थिए। पुरस्कार घोषणा हुँदा उनी तेहरानस्थित एभिन जेलमा थिइन् भने पेरिसमा बस्ने उनका छोराछोरीले पुरस्कार ग्रहण गरेका थिए। उनले आफ्नो पुस्तक “सेतो यातना: इरानी महिला कैदीहरूसँग अन्तर्वार्ता” मा जेल अनुभव तथा अन्य १२ महिला कैदीका कथाहरू समेटेकी छिन्।

नरगिस मोहम्मदी विगत करिब तीन दशकदेखि इरानमा मानव अधिकारको पक्षमा सक्रिय रहेकी छिन्। यस अवधिमा उनी १३ पटक पक्राउ परिसकेकी छिन्। उनलाई पहिलो पटक सन् २०११ मा हिरासतमा लिइएको थियो। त्यसपछि सन् २०१५ मा राष्ट्रिय सुरक्षा विरुद्ध प्रचार गरेको आरोपमा पक्राउ गरी झान्जन केन्द्रीय कारागारमा राखिएको थियो। सन् २०२० मा उनको सजाय घटाइएपछि उनी रिहा भएकी थिइन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका