चिकित्सक र कर्मचारी अक्सिजन खोज्दै उद्योगमा
विराटनगर : विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका निर्देशक एवं वरिष्ठ मुटु रोग विशेषज्ञ डा. राजेश नेपाल बुधबार बिहान १० बजेतिर निक्कै हतास देखिन्थे। उनी यताउता दौडिरहेका थिए। अस्पतालमा भर्ना गरिएका कोरोना संक्रमितका आफन्तले त्यतिबेलै पछ्याउँदै उनलाई आफ्ना बिरामीको अवस्था सोधिरहेका थिए। उनीहरुले उपचाररत संक्रमितको अवस्था सोधिरहँदा अक्सिजन अभावले अस्पतालमा निम्तिएको जटिल परिस्थितिको सामना गरिरहेका डा. नेपाल जवाफ दिन सकिरहेका थिएनन्।
म केहीबेरपछि मात्रै सबै बिरामीको अवस्थाका बारेमा तपाईंहरुलाई भन्नसक्छु भन्दै उनी अक्सिजनका लागि दौडधुप गरिरहेका थिए। चारैतिर फोन घुमाउँदा पनि केही पार लागिरहेको थिएन।
तत्कालै अस्पतालका प्रा. डा. रामहरि घिमिरे, प्रबन्धक नारायण दाहाल, पर्चेज मेनेजर तीर्थ कोइराला र प्राविधिकसहितलाई बोलाएर डा. नेपाल ढुवानीकै साधनमा चढेर अक्सिजनको खोजीमा निस्किए।
सुनसरीको दुहवीस्थित विनायक अक्सिजन उद्योगमा पुगेर १० सिलिन्डर अक्सिजन जुटाउन सके। त्यसपछि टोली मोरङको झोराहाटस्थित मारुती अक्सिजन उद्योगतर्फ लाग्दै थियो।
उद्योगमा समस्या आएर उत्पादन रोकिँदा अक्सिजन आपूर्ति बन्द हुँदा ठूलो समस्या भोग्नु परेको डा. नेपालले बताए। ‘अहिले अस्पतालमा भर्ना भएका सबै संक्रमितलाई अक्सिजन ‘सपोर्ट’मा उपचार गरिरहनु परेको छ,’ उनले भने, ‘उपचारका लागि अति नै आवश्यक रहेको अक्सिजनको चरम अभाव हुँदा बिरामीलाई बचाउन सक्ने अवस्था छैन।’
अक्सिजन नपाएको विषयमा बिरामीका आफन्तलाई जानकारी गराएको डा. नेपालले बताए। ‘अक्सिजन अभाव भएकाले बिरामी निकालेर अन्यत्र उपचारका लागि लैजानु होला भनेर आफन्तलाई जानकारी दिइसक्यौँ,’ डा. नेपालले भने, ‘अक्सिजन जुटाउन अस्पताललाई मुस्किल हुँदा गम्भीर अवस्थाका संक्रमितका आफन्तसँग पनि केही गर्नसक्ने सामथ्र्य छैन।’
नोबेललाई आवश्यक अक्सिजन सुनसरीको खनारमा रहेको पाथिभरा र मोरङको बूढीगंगामा रहेको हिमाल अक्सिजन उद्योगले आपूर्ति गर्दै आएका थिए। दुवै उद्योगमा समस्या भएर उत्पादन प्रभावित बन्दा अक्सिजन अभावको महासंकटसँग जुध्नुपर्ने अवस्था आएको डा. नेपालको भनाइ छ।
अस्पताल प्रबन्धक नारायण दाहालले अस्पतालका लागि अक्सिजन आपूर्ति रोकिएपछि नयाँ संक्रमितको भर्ना लिन छाडिएको बताए। ‘बुधबार बिहानबाट हामीले नयाँ बिरामीलाई भर्ना लिन छाड्यौँ। अवस्था गम्भीर बनेकाले बचाउन सकिन्छ कि भन्ने आश पालेर आफन्तले ल्याएका बिरामीलाई भर्ना गर्न सक्दैनौँ भनेर दुःखका साथ फर्काउनु परिरहेको छ,’ उनले भने।
अस्पतालले सामान्य बिरामीलाई भर्ना गर्न छाडेको त निक्कै भइसक्यो। अहिले गम्भीर अवस्थाका बिरामीलाई पनि उपचार थाल्न अस्पताल असमर्थ भएको दाहालले बताए। ‘अक्सिजन खोज्दैखोज्दै हिँडिरहेका हामी उद्योग-उद्योग पुगेर अनुनयविनय गर्दै अक्सिजन जुटाउने प्रयत्नमा छौँ’, उनले भने।
नोबेलमा अहिले गम्भीर अवस्थाका एक सय ७५ संक्रमितको उपचार भइराखेको छ। आईसीयूमा ६३, भेन्टिलेटरमा दुई र हाइफ्लो अक्सिजनमा एक सय १० जनाको उपचार भइरहेको नोबेलका कोभिड फोकल पर्सन दीपेश न्यौपानेले जानकारी दिए।
पाथिभरा अक्सिजन उद्योगका व्यवस्थापक दीपेश काफ्लेले उद्योगको इन्जिनमा मंगलबार बिहानबाट समस्या आएको बताए। इन्जिनको मर्मतका लागि काठमाडौंबाट मगाएको सामान आउने क्रममा रहेको काफ्लेले बताए। मर्मत सफल भयो भने बिहीबारदेखि मात्रै पूर्ण क्षमतामा उद्योग चलाउनसक्ने अवस्था रहेको उनले बताए। तर अहिले धेरै अस्पतालहरु अक्सिजन माग्दै पटक-पटक आइरहेको उनको भनाइ छ।
उद्योगले दमक, विर्तामोड, उर्लाबारी, पथरी, इटहरी, विराटनगर लगायतका स्थानका अधिकांश अस्पतालमा अक्सिजन आपूर्ति गर्दै आएको थियो। नोबेलमा दैनिक एक सय २० सिलिन्डरसम्म पठाउने गरिएको जानकारी व्यवस्थापक काफ्लेले बताए।
प्रदेश १ को मोरङमा मारुती र हिमाल तथा सुनसरीमा विनायक, पाथिभरा र दुर्गा उद्योगले अक्सिजन उत्पादन गरिरहेका छन्। संक्रमणसँगै माग बढेपछि धान्न समस्या भइरहेको विनायक अक्सिजन उद्योगका सञ्चालक अमित सारडाले बताए। ‘पूर्ण क्षमतामा २४ घण्टा नै उद्योग चलाउनुपर्ने अवस्था छ। एकैछिन पनि विश्राम नपाउँदा मेसिनरी चिजमा समस्या आउनु स्वभाविक हो,’ उनले भने, ‘उद्योगमा समस्या आउन थाल्दा नियमित उत्पादनमा असर पर्न थालेको छ। जसका कारण अस्पतालमा आपूर्ति प्रभावित बनेको छ।’ मेसिनमा केही समस्या आयो भने पुनः उद्योग सञ्चालन गर्न ठूलै मिहिनत गर्नुपर्ने सारडाले बताए।
अक्सिजनको खोजीमा उद्योगतिर जाने तयारी गरिरहेको नोबेल अस्पतालका निर्देशक डा.राजेश नेपालसहितको टोली। तस्बिर : किशोर बुढाथोकी अन्नपूर्णबाट