काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल महिलामाथि हुने हिंसाबाट मुक्त हुन नसकेको बताएका छन्। ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले नेपाली महिलाहरू अहिले पनि शोषण, दमन र उत्पीडनबाट आक्रान्त रहेको बताए ।
‘नेपाल अहिले पनि महिलामाथि हुने विभेद र हिंसा घटनाबाट मुक्त हुन सकेको छैन । सहरदेखि दूरदराजका गाउँहरूमा आज पनि महिलाहरू शोषण, दमन र उत्पीडनबाट आक्रान्त छन्,’ उनले भनेका छन्, ‘महिला विरुद्ध हुने सबै खाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरूक गराउन अन्तर्राष्ट्रिय नारी दिवसले सहयोग पुर्याउनेछ भन्ने मैले विश्वास लिएको छु ।’
उनले नेपालमा लोकतन्त्रको स्थापना र पुनर्स्थापनाका हरेक आन्दोलनहरूमा महिलाहरूको योगदान र नेतृत्व रहेको बताएका छन् ।


