Sunday, November 8, 2026
Homeसामाचारनेपाल–चीन कूटनीतिक सम्बन्ध ७० औँ वर्षमा प्रवेश

नेपाल–चीन कूटनीतिक सम्बन्ध ७० औँ वर्षमा प्रवेश

काठमाडौँ, १६ साउन — नेपाल–चीन कूटनीतिक सम्बन्ध आजदेखि ७०औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा काठमाडौं र बेइजिङमा विविध कार्यक्रमहरू आयोजना गरी सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव मनाइँदै छ ।

प्राचीन कालमा तिब्बती राजा स्रोङ्चन गम्पोसँग नेपाली राजकुमारी भृकुटीको विवाहबाट सुरु भएको ऐतिहासिक सम्बन्ध आधुनिक युगमा झनै सघन हुँदै गएको छ । आधुनिक कूटनीतिक सम्बन्ध भने सन् १९५५ अगस्ट १ मा स्थापना भएको हो, चीनमा कम्युनिस्ट शासन स्थापना (१९४९) को छ वर्षपछि ।

नेपाल–चीन सम्बन्ध शान्तिपूर्ण सहअस्तित्व, पारस्परिक सहयोग, भौगोलिक अखण्डता र सम्प्रभूताको सम्मानलगायत पञ्चशील सिद्धान्तमा आधारित छ । दुवै देशले यस सम्बन्धलाई उच्च प्राथमिकता दिँदै आएका छन् र यसलाई अझ सुदृढ बनाउने प्रयासमा शीर्ष तहका नेतृत्व क्रियाशील रहेको चीनका लागि नेपालका पूर्वराजदूत राजेश्वर आचार्यले राससलाई बताउनुभयो ।

विश्व राजनीतिमा निर्णायक भूमिका खेलिरहेको चीन राष्ट्रसङ्घीय सुरक्षा परिषद्को स्थायी सदस्य समेत भएको उल्लेख गर्दै उहाँले विधिमा आधारित विश्व शासन प्रणाली, अन्तरराष्ट्रिय शान्ति–सुरक्षा तथा साझा भविष्य निर्माणका लागि चीनले सहकार्य र साझेदारीमा जोड दिँदै आएको बताउनुभयो । चीनले प्राप्त गरेको विकासको लाभ नेपालले पनि लिइ मुलुकलाई समृद्धिको दिशामा अघि बढाउनुपर्ने उहाँको सुझाव छ ।

यसै सन्दर्भमा, नेपालका लागि चीनका राजदूत छन सङले आज साँझ आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका