Sunday, November 8, 2026
Homeसामाचारनेपाली सेनाद्वारा निषेधाज्ञा र कर्फ्यु, आम नागरिकलाई सुरक्षा र संयमको अपिल

नेपाली सेनाद्वारा निषेधाज्ञा र कर्फ्यु, आम नागरिकलाई सुरक्षा र संयमको अपिल

काठमाडौं – नेपाली सेनाले आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै अपराधजन्य गतिविधि नियन्त्रणमा सहयोग गर्न सबैलाई अपिल गरेको छ।

सेनाको जारी विज्ञप्तिअनुसार, आज (भाद्र २५ गते) बेलुका ५ बजेसम्म देशभर निषेधाज्ञा जारी रहनेछ भने भोलि भाद्र २६ गते बिहान ६ बजेसम्म कर्फ्यु लागू हुनेछ। परिस्थितिको विश्लेषण गरेर थप जानकारी दिइने जनाइएको छ।

विज्ञप्तिमा भनिएको छ कि आन्दोलनको आडमा अराजक व्यक्ति वा समूहले तोडफोड, आगजनी, लुटपाट, हिंसा र बलात्कारका प्रयासजस्ता क्रियाकलाप गर्ने सम्भावना रहेकोले यो कदम चालिएको हो।

निषेधाज्ञा र कर्फ्युका बेला एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधनहरू भने सञ्चालनमा रहन सक्नेछन्। आवश्यक परे नजिकका सुरक्षाकर्मीसँग समन्वय गर्न सेनाले अनुरोध गरेको छ।

सेनाले आन्दोलनको नाममा हुने कुनै पनि तोडफोड, लुटपाट, आगजनी वा व्यक्ति तथा सम्पत्तिमाथिको आक्रमण दण्डनीय अपराध मानिने र ती क्रियाकलाप गर्नेमाथि कडा कारबाही गरिने चेतावनी दिएको छ।

साथै, सबै आम नागरिकलाई अफवाहमा नलाग्न र आधिकारिक सूचनामा मात्र विश्वास गर्न, राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्दै जनजीवन सामान्य बनाउन आ–आफ्नो दायित्व निभाउन सेनाले अपिल गरेको छ।

सेना हरेक परिस्थितिजन्य जिम्मेवारीमा सक्रिय रहने र नेपाली जनताको सुरक्षा तथा मानवीय उद्धारमा सधैं प्रतिबद्ध रहने विश्वास पनि दिलाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका