काठमाडौं। भाषा आयोगले सवारीसाधनमा जडान हुने विद्युतीय संकेत (इम्बोस्ड नम्बर प्लेट) नेपाली भाषामै हुनुपर्नेमा जोड दिएको छ।
आयोगले नेपालको संविधानको धारा ७ को उपधारा १ अनुसार सरकारी कामकाजको भाषा नेपाली नै हुने स्पष्ट प्रावधान भए पनि सवारीसाधनमा अंग्रेजीमा नम्बर प्लेट राख्ने व्यवस्था असंवैधानिक भएको जनाएको छ।
यसअघि सर्वोच्च अदालतले २०८१ असार ९ गते गरेको नेपाली भाषाको वर्णविन्याससम्बन्धी फैसलामा पनि संविधानको धारा ७ को उपधारा ३ बमोजिम भाषा सम्बन्धी अन्य व्यवस्था भाषा आयोगको सिफारिसअनुसार सरकारले गर्ने उल्लेख गर्दै सबै तहका सरकारलाई सोही अनुसार कार्यान्वयन गर्न निर्देशन दिएको आयोगले स्मरण गराएको छ।
आयोगले आफ्नो संवैधानिक दायित्व बोध गर्दै देवनागरी लिपीमा विद्युतीय संकेत संख्या राख्नुपर्ने निर्णय यही भदौ १ गते गरेको र सोही अनुसार नेपाल सरकारलाई पुनः ध्यानाकर्षण गराइएको आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले जानकारी दिए।


