काठमाडौं । नेपाली कांग्रेसले आज जनकपुरधाम मा पार्टीको प्रतिज्ञा पत्र सार्वजनिक गर्ने भएको छ। नेपाली कांग्रेस मधेस प्रदेश समितिको आयोजनामा हुने प्रतिज्ञा सभामार्फत उक्त प्रतिज्ञा पत्र सार्वजनिक गरिने कार्यक्रम रहेको छ।
प्रतिज्ञा सभामा पार्टीका सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत केन्द्रीय तहका प्रमुख नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ। कांग्रेसले जनकपुरधाममा आयोजना हुने सभालाई राजनीतिक कार्यक्रम मात्र नभई मधेसको स्वाभिमान, समावेशी लोकतन्त्र तथा राष्ट्रिय एकताको सन्देश दिने ऐतिहासिक अवसरका रूपमा लिएको जनाएको छ।
कांग्रेसका नेताहरूका अनुसार मधेसको माटोले सधैँ प्रजातन्त्र, समावेशिता तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा बलियो आवाज उठाउँदै आएको छ। मधेस आन्दोलनपछिको राजनीतिक यात्रामा कांग्रेसले मधेसका जनताको पहिचान, अधिकार, समानुपातिक समावेशिता तथा सशक्तीकरणका मुद्दालाई प्राथमिक एजेन्डा बनाएको मधेस प्रदेश सभापति कृष्णप्रसाद यादव ले बताएका छन्।
उनका अनुसार पार्टी सभापति थापा स्वयं सर्लाही जिल्ला क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेर मधेसका जनतासँग प्रत्यक्ष रूपमा जोडिनु मधेस र राष्ट्रिय राजनीतिबीच सम्बन्ध सुदृढ बनाउने सन्देश भएको उल्लेख गरिएको छ।
मधेसको समृद्धि, कृषिको आधुनिकीकरण, उद्योग तथा व्यापार विस्तार, सीमावर्ती क्षेत्रको व्यवस्थित विकास, युवालाई रोजगारी, महिला सशक्तीकरण तथा सामाजिक न्याय सुनिश्चित गर्ने योजनासहित कांग्रेस अघि बढ्ने यादवको भनाइ छ। सभामा मधेस प्रदेशका सबै निर्वाचन क्षेत्रबाट एक लाखभन्दा बढी मतदाताको सहभागिता रहने अपेक्षा गरिएको छ।
जनकपुरबाट सार्वजनिक प्रतिज्ञा पत्रबारे आज दिउँसो ४ बजे सानेपा स्थित कांग्रेस केन्द्रीय कार्यालयमा प्रवक्ता देवराज चालिसे ले पत्रकार सम्मेलनमार्फत थप जानकारी दिने कार्यक्रम रहेको पार्टीले जनाएको छ।


