Thursday, May 7, 2026
Homeराजनीतिनेपाली कांग्रेस को १५औँ महाधिवेशन तालिका सार्वजनिक, असोज १६–१९ मा केन्द्रीय अधिवेशन

नेपाली कांग्रेस को १५औँ महाधिवेशन तालिका सार्वजनिक, असोज १६–१९ मा केन्द्रीय अधिवेशन

काठमाडौं । नेपाली कांग्रेस ले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णयअनुसार विस्तृत तालिका सार्वजनिक गरिएको हो।

पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल का अनुसार चैत मसान्तसम्म क्रियाशील सदस्यता वितरण तथा अद्यावधिक विशेष अभियान सञ्चालन गरिनेछ। यस अवधिमा केन्द्रबाट सदस्यता फारम वडा तहसम्म पठाइने र वितरणका लागि १६५ निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाइनेछ।

आगामी वैशाख १ देखि मसान्तसम्म देशभरका ६,७४३ वडामा सदस्यता वितरण तथा अद्यावधिक गरिनेछ। सदस्यहरूले आफू आवद्ध वडाबाटै सदस्यता नवीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ।

जिल्लास्तरमा प्रारम्भिक छानबिन समितिमा परेका उजुरीको निराकरण गरी जेठ मसान्तसम्म केन्द्रमा पठाइनेछ भने केन्द्रले असार १५ गतेभित्र अन्तिम टुंगो लगाउने समयसीमा निर्धारण गरेको छ।

अद्यावधिक सदस्यहरूको नामावली असार मसान्तसम्म केन्द्रीय निर्वाचन समितिलाई बुझाइनेछ। त्यसपछि सभापतिबाट प्रमाणित अन्तिम नामावली उपलब्ध गराएर अधिवेशन प्रक्रिया अघि बढाइनेछ।

कार्यतालिकाअनुसार भदौ २ गते वडा अधिवेशन सम्पन्न गरिनेछ भने भदौ ७ गते गाउँ/नगर अधिवेशन हुनेछ। भदौ १७ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन तथा एक निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन हुने जनाइएको छ।

त्यसैगरी असोज २ र ३ गते जिल्ला अधिवेशन सम्पन्न गरिनेछ भने अन्तिम रूपमा असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन आयोजना गरिनेछ।

पार्टीले महाधिवेशन तयारीसँग सम्बन्धित अन्य विभिन्न निर्णयहरू समेत गरेको जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका