Sunday, November 8, 2026
Homeसामाचार“नेपालमै केही गर्न चाहन्थेँ” – अभिनेत्री मिरुना मगर

“नेपालमै केही गर्न चाहन्थेँ” – अभिनेत्री मिरुना मगर

काठमाडौँ, २९ असार: अभिनेत्री मिरुना मगरले आफू बेलायतमा हुर्किए पनि नेपालमै फर्किएर काम गर्ने इच्छा पहिलेबाटै रहेको बताएकी छिन्। हालै आयोजित एक अन्तरक्रियामा मगरले आफ्नो बाल्यकाल, अभिनयप्रतिको आकर्षण, र नेपाली फिल्म क्षेत्रमा पाइला टेक्ने यात्रा बारे अनुभव सुनाइन्।

“म हङकङमा जन्मिएकी हुँ, तर १२ वर्षसम्म नेपालमै हुर्किएँ। त्यसपछि बेलायत गएर त्यहीं शिक्षा लिएँ,” अभिनेत्री मगरले भनिन्, “तर, नेपालमै आएर केही गर्ने मेरो बाल्यकालदेखिकै चाहना थियो। मेरी आमा नेपाली रंगमञ्चसँग संलग्न हुनुभएको थियो, त्यसैले सानैमा म कलातर्फ आकर्षित भएँ।”

नेपाल फर्किएपछि उनले अनुप बरालसँग अभिनयको औपचारिक प्रशिक्षण लिई चलचित्रमा पाइला राखेकी हुन्। यद्यपि, अभिनयसम्बन्धी औपचारिक शिक्षा नलिए पनि कामको सिलसिलामा निर्देशक, छायाँकार र सहकर्मी कलाकारहरूबाट धेरै कुरा सिक्न पाएको उनले बताइन्।

मगरका अनुसार पछिल्लो समय फिल्म अध्ययन गरेका विद्यार्थीहरू छायाङ्कनस्थलमा सक्रिय देखिए पनि अध्ययन र व्यावहारिक कार्यशैलीबीच तालमेलको कमी देखिन्छ। “थुप्रै विद्यार्थी अध्ययन गरेर फिल्म सेटमा आइरहनुहुन्छ। तर, हाम्रो कार्यशैली र उनीहरूको अध्ययनको शैलीबीच केही असजिलोपन महसुस हुन्छ। त्यसैले शिक्षा पछि काम थाल्नुअघि व्यवहारिक रूपमा बुझ्ने अवसर हुनु आवश्यक छ,” उनले भनिन्।

अभिनेत्री मगरले चलचित्रका विभिन्न पक्षहरूको अध्ययन गर्ने विद्यार्थीहरूले छायाङ्कनस्थलमा पुगेर प्रत्यक्ष सिक्ने वातावरण विकास गर्नु जरुरी रहेकोमा जोड दिइन्। साथै, आफूले पर्दामा निर्वाह गरेका पात्रहरूले समाजका वर्ग र समुदायलाई फरक ढङ्गले प्रस्तुत गर्ने प्रयास गरेको बताइन्।

“मैले चलचित्रमा निर्वाह गरेका पात्रहरूको निर्णय शक्ति र विद्रोह गर्ने साहस, मैले व्यक्तिगत रूपमा बेलायतमा बाँचेको जीवनसँग मेल खाँदैन। त्यसैले पनि मेरा पात्रहरू दर्शकको रोजाइमा परेका हुन् कि भन्ने लाग्छ,” उनले भनिन्।

चलचित्र ‘लालपूर्जा’ मार्फत अभिनय यात्रा सुरु गरेकी मिरुना मगरले ‘कबड्डी ४’, ‘जारी’ र ‘ऊनको स्वीटर’ जस्ता व्यावसायिक रूपमा सफल चलचित्रहरूमा अभिनय गरेकी छिन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका