काठमाडौँ, ३१ साउन । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकाले हाल नेपालमा मनसुन कमजोर अवस्थामा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा साधारण बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली हुनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागसहित अन्य प्रदेशका पहाडी भूभागका केही स्थानमा र तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।
आज राति पनि कोशी र सुदूरपश्चिम प्रदेशसहित अन्य पहाडी भूभागमा साधारण बदली रहने र बाँकी भूभागमा आंशिक बदली हुने अनुमान गरिएको छ। यस्तै, कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभाग र अन्य प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।


