काठमाडौं:नेपालका पर्यटन पेशाकर्मीहरूका लागि चिनियाँ भाषा प्रशिक्षणको सातौं चरण सुरु भएको छ। नेपाल पर्यटन बोर्ड र नेपालस्थित चिनियाँ दूतावासको संयुक्त आयोजनामा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन शुक्रबार पर्यटन बोर्डको सभाहलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले गरेका हुन्।
कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पाण्डेले चिनियाँ भाषा सिकाइ कार्यक्रमले नेपाल-चीन सम्बन्ध सुदृढ गर्नुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। “चिनियाँ भाषाको ज्ञानले दुई देशबीचको सम्बन्धमा सेतुको काम गर्नेछ,” उनले भने, “यसले नेपालमा चिनियाँ पर्यटकको आगमनलाई सहज बनाउनेछ।”
उनले भाषा ज्ञानलाई मानव पूँजी अभिवृद्धि गर्ने साधनका रूपमा व्याख्या गर्दै भने, “जति धेरै भाषाको ज्ञान, त्यति नै बढी योग्यता। चिनियाँ भाषाको अनुवादक बन्नु सीपयुक्त जनशक्ति निर्माणको एउटा उदाहरण हो।” मन्त्री पाण्डेले चिनियाँ भाषा सिकेका व्यक्तिहरू सांस्कृतिक दूतको रूपमा कार्य गर्नसक्ने क्षमता राख्ने बताए।
कार्यक्रममा उनले उपस्थित चिनियाँ प्रतिनिधिहरूलाई नेपालको हिमाली सौन्दर्य अवलोकन गर्न निमन्त्रणा गर्दै जलवायु परिवर्तनका कारण हिमालहरूमा हिउँको परिमाण घट्दै गएको अवस्थाप्रति पनि चिन्ता व्यक्त गरे। साथै, नेपाल जलवायु अनुकूलन र न्यूनिकरणका उपायहरू अवलम्बन गरिरहेको उल्लेख गरे।
त्यसैगरी, नेपालका लागि चिनियाँ राजदूत छेन सोङले नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७५औं वार्षिकोत्सवको अवसरमा सातौं व्याच सुरु गरिएको जानकारी दिए। “चिनियाँ भाषा सिक्नु भनेको विश्वकै सबैभन्दा ठूलो पर्यटन बजारमा पहुँच बनाउने अवसर हो,” राजदूत सोङले भने।
सन् २०१६ मा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल–चीनबीचको सम्बन्ध सुदृढ पार्न पर्यटन पेशाकर्मीलाई चिनियाँ भाषा सिकाउने सहमति अनुरूप प्रशिक्षण कार्यक्रम सुरु गरिएको हो। विगतका ६ व्याचबाट २४० जनाभन्दा बढी प्रशिक्षित भइसकेका छन्।


