काठमाडौँ । आकर्षक सेवा सुविधा र राम्रो रोजगारीको खोजीमा नेपाली चिकित्सकहरू विदेशिने क्रम तीव्र बनेसँगै देशमा चिकित्सक पलायनको चिन्ताजनक तथ्यांक सार्वजनिक भएको छ।
नेपाल मेडिकल काउन्सिलका अनुसार वार्षिक करिब दुई हजार चिकित्सकले चिकित्सकीय दर्ता प्रमाणपत्र (लाइसेन्स) लिने गरे पनि सोही संख्यामा वा त्यसभन्दा बढी चिकित्सकहरूले विदेश जानका लागि ‘असल चारित्रिक प्रमाणपत्र’ (गुड स्ट्यान्डिङ सर्टिफिकेट) लिने गरेका छन्।
काउन्सिलको पछिल्लो तथ्यांकअनुसार सन् २०२५ मा दुई हजार १२२ जनाले लाइसेन्स लिएका थिए भने सोही वर्ष विदेश जानका लागि दुई हजार ३९० जनाले असल चारित्रिक प्रमाणपत्र लिएका छन्। यस आधारमा नयाँ दर्ताभन्दा २६८ जना बढी चिकित्सकले विदेश जाने प्रक्रिया सुरु गरेको देखिन्छ।
चारित्रिक प्रमाणीकरण शाखा प्रमुख प्रदीप रिजालका अनुसार सन् २०२० यता मात्र १३ हजार १४० चिकित्सकले लाइसेन्स लिएका छन् भने ११ हजार ६८ चिकित्सकले विदेश जानका लागि प्रमाणपत्र लिइसकेका छन्।
काउन्सिलका निमित्त रजिस्ट्रार डा. दीपेन्द्र पाण्डेले पछिल्ला वर्षहरूमा आकर्षक तलब, सुविधा र करियर अवसरका कारण चिकित्सकहरू विदेशिने प्रवृत्ति बढेको बताए। उनका अनुसार नेपालमा मेडिकल अधिकृत तहमा अवसर सीमित हुनु र सेवा सुविधामा असन्तुष्टि हुनु प्रमुख कारण हो।
काउन्सिलका तथ्यांकअनुसार नेपाली चिकित्सकहरूको प्रमुख गन्तव्य संयुक्त राज्य अमेरिका बनेको छ, जहाँ सन् २०२० यता दुई हजार ९९५ जना चिकित्सक पुगेका छन्। त्यसपछि बेलायतमा दुई हजार ६३७, माल्दिभ्समा दुई हजार २४१, भारतमा ९१८, अस्ट्रेलियामा ८४८, यूएईमा ७२०, क्यानडामा १४८ र जर्मनीमा ९२ जना चिकित्सक पुगेका छन्।
वर्षगत तथ्यांकअनुसार सन् २०२० मा ८६९, २०२१ मा १ हजार ३२७, २०२२ मा १ हजार ९५४, २०२३ मा २ हजार ३१८ र २०२४ मा २ हजार २१० चिकित्सकले विदेश जानका लागि प्रमाणपत्र लिएका छन्।
त्यसैगरी, दर्ता प्रमाणपत्र लिने चिकित्सकको संख्या पनि निरन्तर बढ्दो क्रममा रहेको छ। काउन्सिलका अनुसार सन् २०२० देखि २०२४ सम्म क्रमशः २ हजार १३१, १ हजार ७१६, २ हजार ८५, २ हजार ६९२ र २ हजार ३९४ चिकित्सकले लाइसेन्स लिएका छन्।
हाल नेपाल मेडिकल काउन्सिलमा कुल ३९ हजार ४८६ चिकित्सक दर्ता भइसकेका छन्। पर्याप्त अवसर, उचित पारिश्रमिक र वृत्तिविकासको अभावका कारण देशले दक्ष जनशक्ति गुमाउनुपर्ने अवस्था बढ्दै गएको सरोकारवालाहरूले बताएका छन्।


