Thursday, June 4, 2026
Homeकोरोना बिशेषनेपालको दुई तिहाइभन्दा बढी जनसंख्यामा कोभिड–१९ एन्टिबडी

नेपालको दुई तिहाइभन्दा बढी जनसंख्यामा कोभिड–१९ एन्टिबडी

जनघनत्व धेरै भएका सहरी क्षेत्रमा कोरोनाभाइरस (कोभिड–१९) को जोखिम बढी हुन्छ भन्ने धेरैलाई लाग्न सक्छ । तर, नेपालको सन्दर्भमा कोरोना संक्रमणको जोखिम ग्रामीण भेगदेखि सहरी क्षेत्रमा करिब उस्तै रहेको स्वास्थ्य मन्त्रालयको सर्वेक्षणले देखाएको छ ।

महामारीको प्रभाव गाउँ र सहरमा उस्तै पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, विश्व स्वास्थ्य संगठन र केन्द्रीय तथ्याङ्क विभागको सहयोगमा असार २१ गतेदेखि साउन ३० गतेसम्म गरिएको सेरोप्रिभिलेन्स सर्वेक्षणमा गाउँमा ६८.७ प्रतिशत, सहरी क्षेत्रमा ६८.५ प्रतिशत मानिसमा कोरोनाभाइरसको एन्टिबडी विकास भएको पाइएको छ ।

यस्तै, नेपालका दुई तिहाइभन्दा बढी जनसंख्यामा कोभिड–१९ को एन्टिबडी विकास भएको पाइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पराजुलीले जानकारी दिए । सातै प्रदेशका ७७ वटा जिल्लाका १३ हजार १६८ जनामा नमुना परीक्षण गरिएको थियो ।

प्रदेश २ मा एन्टिबडी विकास अधिक
स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार करिब डेढ महिना यता प्रदेश २ मा कोरोना संक्रमण दर निकै घटेको छ । प्रदेश २ मा भदौ ९ गते  ८ जना, १० गते ११ जना, ११ गते ६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै १२ गते ११ जना, १३ गते ३ जना, १४ गते ३ जना र १५ गते ८ जनामा संक्रमण पुष्टि भएको छ । भदौ १६ गते भने यो संख्या बढेर १७ पुगेको छ ।

अन्य ६ प्रदेशको तुलनामा प्रदेश २ मा कम संक्रमित पाइएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ । मन्त्रालयले विभिन्न संस्थासँग समन्वय गरी गरेको सेरोप्रिभिलेन्स सर्वेमा प्रदेश २ मा ठुलो जनसंख्यामा एन्टिबडी विकास भएको पाइएको छ ।

प्रदेश २ मा ८४.७ प्रतिशत जनसंख्यामा एन्टिबडी विकास भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसपछि गण्डकी प्रदेशका ६०.७ प्रतिशत मानिसमा एन्टिबडी देखिएको छ ।

एन्टिबडीको विकास हुनेमा महिलाको तुलनामा पुरुष बढी

सरकारले हिमाल, पहाड र तराई तथा संक्रमणका दृष्टिले उच्च, मध्यम र न्यून प्रभावित क्षेत्रसमेत समेटेर ७७ जिल्लामै सेरेप्रिभिलेन्स सर्वे गरेको हो । उक्त सर्वेअनुसार नेपालमा महिलाको तुलनामा धेरै पुरुषमा कोरोनाभाइरसको एन्टिबडीको विकास भएको पाइएको छ । सर्वेक्षणअनुसार ६९.६ प्रतिशत पुरुष र ६७.४ प्रतिशत महिलामा एन्टिबडी देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पौडेलका अनुसार नमुना संकलन गर्न ७७ जिल्लामा पुग्दा एक प्रतिशतले सहभागिताका लागि अस्वीकार गरेका थिए । एक प्रतिशतले मात्रै नमुना संकलन गर्न नमानेकाले सर्वेक्षण झन् प्रभावकारी भएको उनको भनाइ छ ।

तराई क्षेत्रमा ७२.४ प्रतिशत जनसंख्यामा एन्टिबडी विकास भएको छ भने पहाडी क्षेत्रमा ६५ प्रतिशत र हिमाली क्षेत्रमा ६० प्रतिशतमा त्यस्तो एन्टिबडी पाइएको छ । सर्वेक्षणमा ६ महिनादेखि ४ वर्षसम्मको उमेर समूहका बालबालिका पनि सहभागी गराइएको थियो । उक्त उमेर समूहका ५५.३ प्रतिशत बालबालिकामा एन्टिबडी विकास भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै ७५ देखि ८४ वर्ष उमेर समूहका ७८.१ प्रतिशतमा एन्टिबडी विकास भएको पाइएको छ ।

खोप लगाएका अधिकांशमा एन्टिबडी
नेपालमा कोरोना विरुद्धको खोपको प्रभावकारिता राम्रो रहेको अध्ययनले देखाएको छ । कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाएका ९० प्रतिशतमा एन्टिबडी पाइएको छ । यस्तै खोपको पहिलो मात्रा मात्रै लगाएका ८० प्रतिशतमा एन्टिबडीको विकास भएको पाइएको छ । खोपको प्रभावकारिता राम्रो देखिएकाले प्राथमिकतामा परेका र रोल क्रममा आधार अनिवार्य रुपमा खोप अभियान सहभागी हुन डा. पौडेलको आग्रह छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै प्रदेश, भौगोलिक क्षेत्र, शहर, गाउँ, लिङ्ग, पेसा, उमेरका आधारमा गरेको सर्वेक्षणले सबैको एन्टीवडी उस्तैउस्तै देखिएको छ । त्यसैले नेपालमा जनघनत्व उच्च भएको मुख्य सहरसँगै ग्रामिण भेगसम्म कोरोना संक्रमणको जोखिम उस्तै रहेको भन्दै उनले सर्वसाधरणलाई सचेत रहनसमेत आग्रह गरे ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका