काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालमा पछिल्ला प्राकृतिक विपद्ले जलवायु संकटबाट उत्पन्न जोखिमलाई थप स्पष्ट पारेको बताएका छन्। उनले हिमाली मुलुकहरूमा जलवायु परिवर्तनको असर गम्भीर बन्दै गएको भन्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका छन्।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको प्रारम्भिक सत्रलाई सम्बोधन गर्दै गुटेरेसले विश्वव्यापी तापक्रम वृद्धिका कारण नेपालसहितका हिमाली मुलुकहरू बढी जोखिममा परेको उल्लेख गरे। तापक्रम बढ्दै जाँदा हिमनदी पग्लिने क्रम तीव्र हुने र त्यसले थप जोखिम निम्त्याउने उनको चेतावनी थियो।
नेपाल भ्रमणका क्रममा तीन वर्षअघि आफूले हिमनदी तीव्र गतिमा पग्लिरहेको भन्दै दिएको चेतावनी स्मरण गर्दै उनले पछिल्लो भोटेकोशी बाढीजस्ता घटनाले जलवायु परिवर्तनको प्रभाव वर्तमानमै देखिन थालेको पुष्टि गरेको बताए।
जलवायु परिवर्तनमा तुलनात्मक रूपमा कम योगदान गरेका नेपालजस्ता मुलुकले यसको ठूलो असर भोगिरहेको उल्लेख गर्दै गुटेरेसले जलवायु न्याय र प्रभावित मुलुकलाई पर्याप्त वित्तीय सहयोगको आवश्यकता औँल्याए। प्रदूषणमा बढी योगदान गरेका देशहरूले जलवायुजन्य क्षति सम्बोधनमा थप जिम्मेवारी लिनुपर्ने उनको भनाइ थियो।
उनले हानि तथा नोक्सानी (Loss and Damage) का लागि स्थापना गरिएको कोषमा पर्याप्त रकम उपलब्ध हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै विकसित मुलुकहरूलाई आफ्ना जलवायु वित्तसम्बन्धी प्रतिबद्धता पूरा गर्न आग्रह गरे।
गुटेरेसले जलवायु अनुकूलनका लागि उपलब्ध वित्तीय सहयोग तीन गुणाले बढाउन तथा हानि–नोक्सानी कोषमा थप स्रोत परिचालन गर्न अन्तर्राष्ट्रिय समुदायसँग आह्वान गरेका छन्।


