Saturday, August 29, 2026
Homeसामाचारनुवाकोट बाढीमा ५१ जनाको मृत्यु, ४०५ जना अझै बेपत्ता

नुवाकोट बाढीमा ५१ जनाको मृत्यु, ४०५ जना अझै बेपत्ता

नुवाकोट । गत भदौ १० गते आएको भीषण बाढीका कारण नुवाकोटमा ठूलो जनधनको क्षति भएको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार बाढीमा परी हालसम्म ५१ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४०५ जना अझै बेपत्ता छन्।

प्रशासनका अनुसार मृत्यु भएका ५१ जनाकै शव फेला परे पनि पहिचान हुन बाँकी छ। बेपत्ताको संख्या आफन्तले दिएको विवरणका आधारमा संकलन गरिएको हो। बाढीमा परी ४० जना घाइते भएका छन्।

बाढीबाट विदुर नगरपालिका–१, २, ४, ५, ७, १० र १२, बेलकोटगढी नगरपालिका–५, ७, ८ र ९, तारकेश्वर गाउँपालिका–२ र ४ तथा किस्पाङ गाउँपालिका–५ को शान्तिबजार क्षेत्र बढी प्रभावित भएका छन्।

बाढीले निजी तथा सरकारी संरचनामा व्यापक क्षति पुर्‍याएको छ। प्रारम्भिक अनुमानअनुसार ७०० देखि ८०० निजी घर क्षतिग्रस्त भएका छन्। कृषि विकास बैंकसहित आठ सरकारी कार्यालय, तीन जलविद्युत् आयोजना र चार विद्यालय भवनमा समेत क्षति पुगेको प्रशासनले जनाएको छ।

यातायात पूर्वाधारतर्फ १५ वटा पक्की पुल र नौ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ। पुल तथा सडकमा क्षति भएपछि गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

बाढीका कारण केन्द्रीय कारागार नुवाकोटको पर्खाल र खम्बासमेत बगेका छन् भने कारागारको भुईँतल्ला माटोले पुरिएको छ। प्रशासनका अनुसार कारागारमा रहेका कैदीबन्दी भने सुरक्षित छन्।

बाढीमा फसेकाहरूको उद्धारका लागि हेलिकप्टर तथा स्थलगत उद्धार टोली परिचालन गरिएको छ। हालसम्म हेलिकप्टरमार्फत १ हजार ८२३ जना र स्थलगत रूपमा ८५ जनाको उद्धार गरिएको प्रशासनले जनाएको छ।

बाढीबाट विस्थापित ७९१ जनालाई विभिन्न आश्रयस्थलमा व्यवस्थापन गरिएको छ। प्रशासनले प्रभावित क्षेत्रमा खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका