Saturday, June 6, 2026
Homeसामाचारनिरन्तर वर्षाका कारण नारायणघाट–बुटवल सडक र कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध

निरन्तर वर्षाका कारण नारायणघाट–बुटवल सडक र कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध

नवलपुर (नवलपरासी): गए रातिदेखि लगातार परेको वर्षाका कारण पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटवल सडकखण्ड अवरुद्ध भएको छ। सडक विस्तारका क्रममा रहेको दाउन्ने क्षेत्रमा वर्षापछिको चिप्लोपनले सवारीसाधन चलाउन कठिन भएपछि सडक पूर्ण रूपमा बन्द गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो।

उहाँका अनुसार सडक चिप्लिएर दुर्घटनाको जोखिम बढेपछि यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको हो। यस सडकखण्डमा राति ११ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म दैनिकरूपमा विस्तारका लागि सडक बन्द गरिँदै आइएको छ। तर, निरन्तर वर्षाका कारण रातिदेखि नै सडक पूर्ण रूपमा अवरुद्ध हुँदा लामो सवारी लाइन लागेको बताइएको छ।

कान्ति लोकपथ पनि अवरुद्ध

यसैबीच, हेटौंडाबाट काठमाडौं जोड्ने कान्ति लोकपथसमेत वर्षाका कारण अवरुद्ध भएको छ। बागमती नदीमा आएको बाढीले मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सिमानामा रहेको डाइभर्सन बगाएपछि आज बिहान ६ः०० बजेदेखि सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

डाइभर्सन बगाएपछि घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको छ र सडक खुलाउने प्रयास जारी रहेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो। यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका