Wednesday, June 17, 2026
Homeअर्थ र ब्यापारनिजी क्षेत्रलाई उत्साहित नगरी अर्थतन्त्र अघि बढ्दैन : अर्थमन्त्री वाग्ले

निजी क्षेत्रलाई उत्साहित नगरी अर्थतन्त्र अघि बढ्दैन : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रको सक्रिय सहभागिताविना मुलुकको अर्थतन्त्रले गति लिन नसक्ने बताएका छन्। उनले सरकारले लगानीमैत्री वातावरण निर्माण, कर प्रणाली सुधार तथा नीतिगत सहजीकरणमार्फत आर्थिक गतिविधि विस्तार गर्ने नीति अवलम्बन गरेको बताएका हुन्।

आर्थिक तथा व्यावसायिक गतिविधि विस्तारका लागि अनुकूल लगानी वातावरण र अर्थतन्त्रका समसामयिक विषयमा आयोजित छलफल कार्यक्रममा बोल्दै मन्त्री वाग्लेले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कर तथा नीतिगत सुधारका कार्यक्रम अघि सारिएको जानकारी दिए।

उनले निजी क्षेत्रलाई खुला रूपमा व्यवसाय गर्न, नियमित कर तिर्न र राज्यको विकासमा साझेदार बन्न आग्रह गर्दै करको दर घटाएर राजस्व वृद्धि गर्ने सिद्धान्तअनुसार सरकार अघि बढेको बताए।

आयकरको सीमा लामो समयदेखि पुनरावलोकन नभएको उल्लेख गर्दै उनले वर्तमान कर संरचनामा सुधार आवश्यक रहेको धारणा व्यक्त गरे। उनले विभिन्न शुल्क, दस्तुर, जरिवाना र ब्याजका कारण एक खर्ब रुपैयाँभन्दा बढी बक्यौता थुप्रिएको भन्दै व्यवसायीलाई राहत दिने व्यवस्था गरिएको बताए।

मन्त्री वाग्लेका अनुसार तोकिएको मूल कर रकम भुक्तानी गरेपछि बाँकी शुल्क, जरिवाना र ब्याजमा छुट दिने व्यवस्था गरिएको छ। यसबाट व्यवसायीलाई नयाँ सुरुवात गर्ने अवसर मिल्ने उनको विश्वास छ। उनले उक्त व्यवस्था निजी क्षेत्रको दबाबमा नभई सरकारको सुधारमुखी पहलका रूपमा ल्याइएको स्पष्ट पारे।

उनले आर्थिक सुधारका लागि बजेट मात्र कुर्नुपर्ने अवस्था नरहेको उल्लेख गर्दै मन्त्रिपरिषद् र अर्थ मन्त्रालयले पनि आवश्यक नीतिगत निर्णयमार्फत सुधारका कार्यक्रम अघि बढाउन सक्ने बताए।

वर्तमान सरकार गठनपछि बजेट तयारीका लागि पर्याप्त समय नपाए पनि उद्यमी–व्यवसायीमैत्री नीति ल्याउन सफल भएको दाबी गर्दै उनले विगतमा निजी क्षेत्रप्रति देखिएको दोहोरो व्यवहार अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताए।

उनका अनुसार सरकारले निजी क्षेत्रलाई अर्थतन्त्रको महत्वपूर्ण साझेदारका रूपमा स्वीकार गर्दै व्यवसाय सञ्चालन, कर तिर्ने संस्कृतिको विकास तथा राज्यप्रति उत्तरदायित्व बढाउने वातावरण निर्माण गर्न जोड दिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका