Sunday, November 8, 2026
Homeसामाचारनाला–भक्तपुर वैकल्पिक सडक सञ्चालनमा, अस्थायी पुलमार्फत यातायात सुचारु

नाला–भक्तपुर वैकल्पिक सडक सञ्चालनमा, अस्थायी पुलमार्फत यातायात सुचारु

काभ्रेपलाञ्चोक, २२ असार: अवरुद्ध बनेको नाला–भक्तपुर सडकखण्ड आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ। काभ्रेको बनेपा नगरपालिका–४ र १ को सीमास्थलमा रहेको पुल शुक्रबार राति भत्किएपछि सो सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको थियो।

जिल्ला ट्राफिक कार्यालय, बनेपाका अनुसार गए राति छवटा ठूला ह्युमपाइप राखेर अस्थायी पुल निर्माण गरी आज बिहानदेखि सवारीसाधन सञ्चालनमा ल्याइएको हो। बनेपा नगरपालिकाको पहल र सडक विभागको समन्वयमा रातभर काम गरी अस्थायी पुल सञ्चालनमा ल्याइएको कार्यालय प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुले जानकारी दिए।

उक्त सडक राजधानी काठमाडौँ आवतजावत गर्न प्रयोग गरिने वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको हो। नाला–च्यामासिङ खण्डअन्तर्गत पर्ने सो पुल विसं २०३७ मा निर्माण भएको थियो। स्थानीयका अनुसार शनिबार राति एक मालवाहक गाडी पुल पार गरेलगत्तै करिब ४५ वर्ष पुरानो पुल भत्किएको थियो। पुल भत्किएपछि सवारी सञ्चालन पूर्णरूपमा बन्द गरिएको थियो।

हाल अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको धुलिखेलसम्म सडक विस्तार भइरहेकाले विगत दुई वर्षदेखि अधिकांश सवारी साधन नाला–च्यामासिङ सडकमार्ग प्रयोग गर्दै आएका छन्। यस्तो अवस्थामा उक्त पुल भत्किँदा वैकल्पिक मार्गसमेत अवरुद्ध भएको थियो।

हाल अस्थायी व्यवस्थामार्फत पुनः सञ्चालनमा ल्याइएको भए पनि दीर्घकालीन समाधानका लागि स्थायी पुनर्निर्माणको आवश्यकता देखिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका