चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ तुइनखोलामा फेरि ठूलो पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको छ।
आज दिउँसो ४ः५५ बजे गएको पहिरो र त्यसपछिका निरन्तर पहिरोका कारण पन्छाउने कार्य कठिन भएको डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लम्सालले जानकारी दिए। उनका अनुसार पहिरो झर्ने क्रम नरोकिएकाले तत्काल सडक सुचारु गर्न कठिन भएको छ।
गत शुक्रबार पनि सोही स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो। सोमबार मात्र सञ्चालनमा आएको सडक आज पुनः अवरुद्ध भएपछि लामो समय लाग्ने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।


