मध्यविन्दु (नवलपरासी): नारायणगढ–बुटवल सडकअन्तर्गत दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि सवारी आवागमन आगामी वैशाख ३१ गतेसम्म बन्द हुने भएको छ।
यसअघि वैशाख १५ गतेसम्म राति ११ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाई सडक विस्तारको काम हुँदै आएको थियो। सो रोकलाई वैशाख ३१ गतेसम्म निरन्तरता दिइने नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले जानकारी दिनुभयो।
प्रमुख पाण्डेका अनुसार दाउन्ने क्षेत्रमा निर्माणकार्य अझै केही दिन चल्ने भएकाले प्रत्येक रात ११ः०० बजेदेखि भोलिपल्ट बिहान ५ः०० बजेसम्म सवारी आवागमन बन्द रहनेछ।
“दाउन्ने खण्डमा आवश्यक सडक मर्मत र निर्माण कार्यलाई तीव्रता दिन रातको समयमा सवारीसाधन सञ्चालन रोकी काम भइरहेको छ,” उहाँले भन्नुभयो, “भित्तातर्फ कटिङ बाँकी काम वर्षाअगावै सम्पन्न गर्नका लागि केही दिन आवागमन बन्द गर्ने निर्णय गरिएको हो।”
यसअघि चैत २७ देखि चैत ३१ गतेसम्म दिनको ११ः०० बजेदेखि ३ः०० बजेसम्म र वैशाख १ गतेदेखि रातिको ११ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाई सडक विस्तारको काम हुँदै आएको थियो।
हाल दाउन्ने खण्डमा पहाड काट्ने, पर्खाल लगाउने र कल्भर्ट निर्माणको काम भइरहेको पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालले जानकारी दिनुभयो।
नारायणगढ–बुटवल सडक परियोजनाअन्तर्गत ११४ किलोमिटरमध्ये गैँडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटर खण्डमा सडक विस्तार भइरहेको छ। बजार क्षेत्रमा सर्भिस लेनसहित सडक निर्माण भइरहे पनि जोखिम बढी रहेको दाउन्नेको १४ किलोमिटर खण्डमा तीन लेनको सडक विस्तार कार्य जारी छ।
रु १७ अर्ब लागतमा निर्माणाधीन सो सडकको ठेक्का पाएको चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसनले अहिलेसम्म तीनपटक म्याद थप गरिसकेको छ। तेस्रोपटक थपिएको म्याद आगामी २०८२ साउन ८ गतेसम्म रहेको छ।