Saturday, August 15, 2026
Homeसामाचारनागार्जुनमा ‘कृषि, सांस्कृतिक तथा व्यापार महोत्सव’ सुरु, साउन ४ सम्म विविध आकर्षण

नागार्जुनमा ‘कृषि, सांस्कृतिक तथा व्यापार महोत्सव’ सुरु, साउन ४ सम्म विविध आकर्षण

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–५, हरिसिद्धि (सितापाइला) मा ‘कृषि, सांस्कृतिक तथा व्यापार महोत्सव’ शुक्रबारदेखि सुरु भएको छ। राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालको आयोजनामा सञ्चालन भएको महोत्सवको उद्घाटन विशेष समारोहबीच नागार्जुन नगरपालिकाका प्रवक्ता तथा वडा नं. ५ का वडाध्यक्ष महेश रिमालले गरेका हुन्।

उद्घाटन कार्यक्रममा बोल्दै वडाध्यक्ष रिमालले स्थानीय कृषि उत्पादनको प्रवर्द्धन, आन्तरिक व्यापारको विस्तार तथा नेपाली लोक संस्कृतिको संरक्षण र प्रवर्द्धनमा यस्ता महोत्सवले महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष नमराज ढुंगानाको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा महोत्सवलाई स्थानीय उत्पादन, उद्यम र संस्कृतिलाई एकै थलोमा प्रवर्द्धन गर्ने अवसरका रूपमा प्रस्तुत गरिएको थियो।

आयोजकका अनुसार साउन ४ गतेसम्म सञ्चालन हुने महोत्सवमा रैथाने तथा आधुनिक कृषि उत्पादन, औद्योगिक सामग्री, विभिन्न परिकारका फूड स्टल, साथै बालबालिका र युवाका लागि पिङ तथा मनोरञ्जनात्मक खेलका स्टलहरू राखिएका छन्।

महोत्सवको अर्को प्रमुख आकर्षण दैनिक सांगीतिक प्रस्तुति रहनेछ। कार्यक्रममा रचना रिमाल, समीक्षा अधिकारी, एलिना चौहान, पशुपति शर्मा, नवराज घोरासिनी, भोजराज काफ्ले, सरोज लामिछाने, भीमसेन खतिवडा, सृजना खत्री (हाउडेमाया), सहिमा श्रेष्ठ र बिन्दु परियारलगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरूले आफ्नो प्रस्तुति दिने आयोजकले जनाएको छ।

स्थानीय व्यापार–व्यवसायलाई चलायमान बनाउने, कृषि उत्पादनको बजारीकरणमा टेवा पुर्‍याउने तथा सर्वसाधारणलाई सांस्कृतिक मनोरञ्जन प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव साउन ४ गतेसम्म सञ्चालन हुनेछ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका