काठमाडौं । नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोट गर्न अन्तर्राष्ट्रिय स्तरको बोलपत्र (टेण्डर) आह्वान गरिएको छ।
नागढुङ्गा सुरुङ निर्माण आयोजनाले आइतबार अन्तर्राष्ट्रिय प्रतिस्पर्धामार्फत अनुभवी र सक्षम सेवा प्रदायक छनोटका लागि टेण्डर आह्वान गरेको हो। बोलपत्र बुझाउने अन्तिम मिति आगामी पुस २ गते (सन् २०२५ डिसेम्बर १७) तय गरिएको छ।
हाल सुरुङ मार्ग सवारी सञ्चालन योग्य भए पनि दक्ष जनशक्ति र सुरक्षासम्बन्धी कारणले सञ्चालनमा आउन सकेको छैन। मुख्य सुरुङको लम्बाइ २.७ किलोमिटर र आपत्कालीन सुरुङको लम्बाइ २.६ किलोमिटर रहेको छ। सरकारले यस सुरुङ मार्ग प्रयोग गर्ने सवारी साधनका लागि सडक उपभोग दस्तुर (टोल) निर्धारण गरिसकेको छ।
सुरुङमा अत्याधुनिक प्रविधि समावेश भए पनि सडक विभागको हालको कार्यभार, सीमित अनुभव र उपलब्ध जनशक्तिका कारण सुरुङको नियमित सञ्चालन र मर्मत चुनौतीपूर्ण हुने देखिएको छ। त्यसैले विशेष तालिम प्राप्त दक्ष जनशक्तिमार्फत पाँच वर्षका लागि सुरुङ सञ्चालन र मर्मत गराउने उद्देश्यले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट सेवा प्रदायक छनोट गर्न लागिएको हो।
यस अवधिमा विदेशी विज्ञहरूको सहयोगबाट नेपाली प्राविधिक र व्यवस्थापकहरूले आवश्यक प्रविधि तथा सीप सिक्ने अवसर पाउनेछन्, जसले भविष्यमा अन्य सुरुङ मार्ग र फास्ट ट्र्याकजस्ता ठूला संरचना स्वदेशी जनशक्तिबाटै सञ्चालन गर्न सहज बनाउने अपेक्षा गरिएको छ।
सुरुङ २४ घण्टा सञ्चालन गर्नुपर्ने भएकाले दुर्घटना, आगलागी वा प्रणाली बिग्रिएमा तुरुन्तै आपत्कालीन सेवा उपलब्ध हुन आवश्यक हुन्छ। त्यसका लागि सेवा प्रदायकले शिफ्ट प्रणालीमा कर्मचारी खटाउने र आपत्कालीन टोली स्थापना गर्ने व्यवस्था गर्नेछ। यस प्रयोजनका लागि १५० जनाको दरबन्दी प्रस्ताव गरिएको छ।
सुरुङ सञ्चालन तथा मर्मत प्रमुखको नेतृत्वमा सम्पूर्ण कर्मचारी रहनेछन्। प्रस्तावित संरचनाअनुसार, सुरक्षा व्यवस्थापन युनिटमा सबैभन्दा बढी ६४ जना, टोल संकलनका लागि ५४ जना, ट्राफिक सुविधा अनुगमन तथा नियन्त्रणका लागि १४ जना, र सिभिल तथा अन्य संरचना मर्मतका लागि ८÷८ जना कर्मचारी रहने व्यवस्था गरिएको छ।


