काठमाडौं । नेपाली अटोमोबाइल बजारमा विद्युतीय सवारी (ईभी) को लोकप्रियता बढिरहेका बेला आयोजना हुन लागेको नाइमा मोबिलिटी एक्स्पो नयाँ प्रविधि र नवीन उत्पादनहरूको आकर्षक प्रदर्शनी बन्ने भएको छ। एक्स्पोमा सहभागी हुने ५५ वटा ब्रान्डमध्ये अधिकांशले विद्युतीय सवारीसाधन तथा भविष्यका स्मार्ट मोबिलिटी प्रविधिलाई प्राथमिकताका साथ प्रस्तुत गर्ने तयारी गरेका छन्।
एक्स्पोका प्लानिङ कमिटी सदस्य शिशिरकुमार मुरारकाका अनुसार यस वर्ष ५२ वटा स्टलमार्फत ५५ ब्रान्ड सहभागी हुनेछन् भने करिब ४० नयाँ सवारी तथा प्रविधि सार्वजनिक गरिनेछ।
उनका अनुसार यसपटकको मुख्य आकर्षण नै नयाँ मोडल र अत्याधुनिक प्रविधिको सार्वजनिक प्रदर्शन हुनेछ। उपभोक्ताले एउटै प्लेटफर्ममा नवीन ईभी मोडल, स्मार्ट मोबिलिटी समाधान तथा भविष्यमा नेपालमा आउन सक्ने प्रविधिहरू प्रत्यक्ष अवलोकन गर्न सक्नेछन्।
मुरारकाले नेपालमा विद्युतीय सवारीको बजार तीव्र गतिमा विस्तार भइरहेका बेला एक्स्पोले उपभोक्तालाई ईभी, चार्जिङ प्रविधि, नयाँ डिजाइन तथा भविष्यका सवारी प्रविधिबारे जानकारी दिने बताए।
उनका अनुसार हाल नेपालमा बिक्री भइरहेका सवारीसाधनसँगै चीन र भारतमा विकास भइरहेका आगामी पुस्ताका ईभी मोडलहरू पनि प्रदर्शन गरिनेछ। केही कम्पनीहरूले भविष्यमा नेपालमा भित्रिन सक्ने संकेतस्वरूप लेफ्ट ह्यान्ड ड्राइभ मोडलसमेत प्रदर्शन गर्ने तयारी गरेका छन्।
उनले एक्स्पोले नयाँ सवारी बिक्री बढाउनुका साथै समग्र अटोमोबाइल बजारलाई पनि चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। विशेषगरी दशैंको अवसरमा धेरै उपभोक्ताले सवारी खरिद गर्ने भएकाले एउटै स्थानमा विभिन्न ब्रान्डका मोडल, अफर र सुविधाको तुलना गर्न सहज हुने उनको भनाइ छ।
एक्स्पोमा बैंक, बीमा कम्पनी तथा एक्सचेन्ज पार्टनरहरूको पनि सहभागिता रहनेछ। यसबाट ग्राहकले सवारी खरिदका लागि आवश्यक फाइनान्स, बीमा र पुरानो सवारी साट्ने (एक्सचेन्ज) सेवा एउटै स्थानबाट प्राप्त गर्न सक्नेछन्।
कम ब्याजदरले खरिदको अवसर
हाल बैंकिङ क्षेत्रमा ब्याजदर तुलनात्मक रूपमा कम रहेकाले सवारी खरिदका लागि अनुकूल समय रहेको मुरारकाले बताए। उनका अनुसार कम ब्याजदरका कारण ग्राहकको आर्थिक भार घट्ने भएकाले अहिले गाडी खरिद गर्नु लाभदायक हुन सक्छ।
सर्भिस र स्पेयर पार्ट्समा सुधार
ईभीको संख्या बढेसँगै सर्भिस सेन्टर र स्पेयर पार्ट्सको उपलब्धता चुनौतीका रूपमा देखिए पनि अधिकांश ब्रान्डहरूले सेवा विस्तार र व्यवस्थापनमा सुधार गरिरहेको मुरारकाले बताए। सीमाक्षेत्रका अवरोध, अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खलाको समस्या वा ढुवानीमा हुने ढिलाइका कारण कहिलेकाहीँ स्पेयर पार्ट्स ढिलो पुग्न सक्ने भए पनि बिक्रीपछिको सेवा नदिने अवस्था नरहेको उनले स्पष्ट पारे।
पार्किङ र डिजिटल टिकटको व्यवस्था
आगन्तुकको सुविधाका लागि एक्स्पो अवधिभर भृकुटीमण्डपको विपरीततर्फ रहेको ब्लु प्याभिलियन लाई पार्किङ स्थलका रूपमा प्रयोग गरिनेछ।
त्यस्तै, खल्ती बाई आईएमई मार्फत डिजिटल टिकट खरिद गर्न सकिने व्यवस्था गरिएको छ। युनियन पे मार्फत भुक्तानी गर्ने ग्राहकलाई क्यासब्याक तथा विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार नाइमा मोबिलिटी एक्स्पो केवल सवारी प्रदर्शनीमा सीमित नरही नेपालमा भित्रिँदै गरेका नयाँ अटोमोबाइल प्रविधि, विद्युतीय सवारी र भविष्यको स्मार्ट मोबिलिटीबारे जानकारी दिने महत्वपूर्ण प्लेटफर्मका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।


