काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले शुक्रबार पदभार ग्रहण गरेका छन्।
राष्ट्रपति कार्यालयमा सपथग्रहण गरेपछि मन्त्री शर्मा परराष्ट्र मन्त्रालय पुगेर औपचारिक रूपमा पदभार सम्हालेका हुन्।
पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै मन्त्री शर्माले मुलुक र मन्त्रालयको निरन्तरता, उद्धार तथा प्रगतिका लागि आफूले जिम्मेवारी सम्हालेको बताए। उनले मन्त्रालयका नियमित कामकाजमा कुनै अवरोध नआओस् भन्ने आफ्नो प्राथमिकता रहेको स्पष्ट गरे।
‘मुलुक हाम्रो हो। हामीले जिम्मेवारी खाली राख्यौँ भने समस्या सिर्जना हुन सक्छ,’ उनले भने, ‘रुटिन प्रक्रियामा बाधा नपरोस् र मन्त्रालयको उद्धार तथा प्रगति हुन्छ भने हामीले रोक्नु हुँदैन भन्ने सोचका साथ म आएको हुँ।’
मन्त्री शर्माले नेपालले दुई छिमेकी नवोदित राष्ट्रहरूको अनुभव र ज्ञानबाट सिक्दै सहकार्य गरेर अगाडि बढ्न सक्ने विश्वास व्यक्त गरे। उनले कूटनीतिक सहकार्य र समन्वयलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाए।
यसैगरी, उनले नेपालको अन्तर्राष्ट्रिय छवि कसरी सकारात्मक बनाउने भन्ने विषयलाई प्राथमिकतामा राख्दै त्यससम्बन्धी पहिलो निर्णय गरिसकेको जानकारी पनि दिए।


