नेपाली राजनीतिमा अनौठो दृश्य देखिएको छ । प्रतिनिधिसभा विघटन बदर गर्ने फैसला सर्वोच्च अदालतले गरेसँगै नयाँ सरकार गठनको रस्साकस्सीका बीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कानुनी रुपमा कहिले विभाजित होला भन्ने प्रतिक्षामा केही दलहरु देखिएका छन् । नेकपा ओली पक्ष र प्रचण्ड–नेपाल पक्ष भएर राजनीतिक रुपमा विभाजित भएपनि कानुनी रुपमा एकै हुँदा नयाँ सरकार गठनको कोर्स अघि बढ्न नसकेपछि राजनीतिमा यस्तो दृश्य देखिएको हो ।
सरकारको नेतृत्व हाल नेकपाको केपी ओली पक्षले गरिरहेको छ । तर सर्वोच्चको फैसलापछि ओली सरकारलाई विस्थापित गर्न अर्थात नयाँ सरकार गठनका लागि नेकपाकै प्रचण्ड–नेपाल पक्षले सुरुमा काँग्रेस र त्यसपछि जनता समाजवादी पार्टी नेपाल (जसपा) सँग छलफल गरिसकेको छ । तर दुबै दलले प्रचण्ड–नेपाल पक्षको दलको आधिकारिकताको प्रश्न उठाएका छन् ।