Thursday, May 14, 2026
Homeसामाचारनयाँ वर्षको पहिलो दिन आज देशभर शुभकामना आदानप्रदान गरी मनाइँदै

नयाँ वर्षको पहिलो दिन आज देशभर शुभकामना आदानप्रदान गरी मनाइँदै

काठमाडौँ, १ वैशाख: आज विक्रम संवत् २०८२ सालको पहिलो दिन, वैशाख १ गते, देशभर एकआपसमा शुभकामना साटासाट गरी नयाँ वर्ष हर्षोल्लासका साथ मनाइँदैछ।

आज सूर्यले मीन राशिको यात्रा समाप्त गरी मेष राशिमा प्रवेश गर्ने दिन हो, जसलाई वैशाख सङ्क्रान्ति वा मेष सङ्क्रान्ति पनि भनिन्छ। यही दिनबाट नयाँ वर्षको सुरुवात हुने भएकाले यस दिनको खगोलशास्त्रीय र सांस्कृतिक महत्व विशेष हुन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष माधव भट्टराईका अनुसार, सूर्यको गतिलाई आधार मानेर चल्ने विक्रम संवत् शाश्वत पात्रो हो। “विक्रम ६० संवत्सरमध्ये एक हो र सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो। सूर्यको गति र स्थितिअनुसार चल्ने यो संवत्मा शक संवत्का विशेषता र इश्वी संवत्का व्यावहारिक पक्ष पनि समावेश गरिएको छ,” भट्टराईले बताए।

सूर्य मेष राशिमा प्रवेश गरेपछि मीन राशि छाड्दा पुरानो वर्ष समाप्त भई नयाँ वर्ष सुरु हुने भएकाले यो संवत् वैज्ञानिक आधारमा आधारित रहेको विद्वानहरूको भनाइ छ। यसमा सौरमान र चान्द्रमानको समन्वय समेत गरिएको छ। ऐतिहासिक दृष्टिले हेर्दा, कलि युग सुरु भएको ३,०४४ वर्षपछि विक्रम संवत् प्रारम्भ भएको हो।

नयाँ वर्षको दिन नेपालीहरू बिहानै उठेर स्नान गर्ने, घर-आँगन सफा गर्ने, मठ-मन्दिरमा पूजा आराधना गर्ने, मीठा खानेकुरा खाने, साथीसंगी र इष्टमित्रसँग भेटघाट गरी शुभकामना साट्ने चलन रहिआएको छ। देश–विदेश जहाँ भए पनि नेपालीहरूले वैशाख १ लाई नयाँ वर्षका रूपमा उल्लासका साथ मनाउँछन्।

चान्द्रमानअनुसार नयाँ संवत्सर चैत्र शुक्ल प्रतिपदाबाट सुरु हुने भएकाले यस वर्ष चैत १७ गतेदेखि नै नयाँ संवत्सर सुरु भइसकेको हो। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार, अहिले “सिद्धार्थी” नामक संवत्सर चलिरहेको छ, जुन ६० संवत्सरमध्ये ५३ औँ हो। वैदिक सनातन हिन्दू धर्मअनुसार यी ६० संवत्सर आदि अनादिकालदेखि परिक्रमामा रहेका छन्, जसमा पहिलो संवत्सरको नाम प्रभव हो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका