Thursday, June 4, 2026
Homeसामाचारनयाँ भेरियन्ट भित्रिन नदिन उच्च सतर्कता

नयाँ भेरियन्ट भित्रिन नदिन उच्च सतर्कता

काठमाडौं : ‘अनअराइभल’ भिसा खुला गरी अन्तर्राष्ट्रिय उडान पूर्ण सञ्चालन गरेको साढे दुई महिना नपुग्दै रोक लगाउने कि भन्नेमा सरकार पुगेको छ। मन्त्रिपरिषद्को गत असोज ५ गतेको बैठकले झन्डै १७ महिनापछि विदेशी पर्यटकलाई नेपालको ढोका खुला गरेको थियो। सबै मुलुकका नागरिकलाई ‘अनअराइभल’ भिसा दिने निर्णयसँगै स्वास्थ्य मापदण्डलाई खुकुलो बनाइएको थियो।

दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै नेपालका आधिकारिक निकाय सतर्क भइसकेको इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ मेडिकल सुपरिटेन्डेन डा. हेमन्तचन्द्र ओझाले बताए। नेपाल सरकार, गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय, पर्यटन मन्त्रालयलगायत अगाडि आइसकेको डा. ओझाको भनाइ छ। सबै नागरिकलाई खोपको पर्याप्तता भइनसकेका कारण पनि सम्बन्धित निकाय थप सचेत हुन र संक्रमण फैलन नदिन अघि आउनुपर्ने उनले बताए।

अन्तर्राष्ट्रिय उडान र सीमा नाकामा कडाइ गर्ने सम्बन्धमा कोभिड¬–१९ संकट व्यवस्थापन समन्वय केन्द्र(सीसीएमसीसी)ले सोमबार सचिवालय बैठक बोलाएको छ। उक्त बैठकमा कोरोनाविरुद्धको स्वास्थ्य मापदण्डसम्बन्धी कार्यविधि बनाउने वा आदेश जारी गर्नेबारे सुझाव दिइने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले अन्नपूर्ण पोस्ट्सित बताए।

अन्तर्राष्ट्रिय उडानमार्फत सम्बन्धित मुलुकबाट आएका नागरिकलाई १० वा १४ दिन क्वारेन्टाइन राख्न सकिने सुझाव दिइने सचिव यादवको भनाइ छ। उनका अनुसार छिमेकी मुलुक भारतसँगको सीमा नाका बन्द गर्न, तेस्रो मुलुकबाट नेपाल आउनेहरूलाई क्वारेन्टाइन कि भन्ने सम्बन्धमा पनि सुझाव दिइने भएको छ।

‘सीसीएमसीसीको सिफारिसमा मन्त्रिपरिषद्को कार्यालयले निर्णय दिएप्छि मात्र के गर्ने भन्ने निक्र्योल आउने देखिन्छ’, उनले भने।

नयाँ भेरियन्टको संक्रमण फैलिएसँगै अन्तर्राष्ट्रिय उडान बन्द गर्र्ने अवस्था आउन सक्ने सहसचिव बुद्धिसागर लामिछानेले बताए। अमेरिकी, युरोप, साउदी अरब, इरानलगायतले ओमिक्रोन पुष्टि भएका मुलुकमा कुनै पनि किसिमका यात्रामा प्रतिबन्ध लगाउन सुरु गरिसकेको सहसचिव लामिछानेको भनाइ छ। त्यसकारण नेपालले पनि आवश्यक परे प्रतिबन्ध वा उडान बन्द गर्न सक्ने उनले बताए।

‘विश्व स्वास्थ्य संगठनले नै कडा छ भनिसकेको हुँदा हामीले पनि कडा नै मापदण्ड र निर्देशन भने गर्नुपर्छ’, उनले भने।

अन्तर्राष्ट्रिय उडान रोक्ने सम्बन्धमा सीसीएमसीसीको निर्णयपछि मात्रै काम अघि बढाइने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले बताए।

दक्षिण अफ्रिकाबाट आएका हवाई यात्रुमा केही मुलुकमा नयाँ भेरियन्ट देखापर्न थालेको छ । नयाँ भेरियन्ट देखिएकामध्ये हङकङमा मात्रै नेपालको सिधा उडान छ। सम्बन्धित अन्य देशबाट ट्रान्जिट हुँदै नेपाल प्रवेश गर्नुपर्छ।

नेपाल प्रवेशको ट्रान्जिटमा छिमेकी मुलुक भारत पनि पर्छ। यस्तोमा भारतसँगको सिधा उडान र सीमा नाकामा पनि सजगता अपनाउन आवश्यक रहेको जानकार बताउँछन्। भारतमा भने नयाँ भेरियन्ट पुष्टि भने भएको छैन।

दक्षिण अफ्रिकामा हालै कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको पुष्टिसँगै विश्न नै थप सशंकित बनेको छ। बोत्सवाना, बेल्जियम, इजरायल, हङकङसहित दर्जन मुलुकमा पनि नयाँ भेरियन्ट पुष्टि भइसकेको छ। नयाँ भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले नै भेरियन्ट अफ कन्सर्न भनेर नामकरण गरेको छ। पर्यटन उद्योग केही चलायमान बनेको अवस्थामा नयाँ भेरियन्ट नयाँ खतरा बनेर आएको व्यवसायीहरूको भनाइ छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका