ललितपुर । ‘जेनजी पुस्ता’को आन्दोलनका क्रममा भदौ २४ गते नक्खु कारागारबाट फरार भएका कैदीबन्दीमध्ये २०६ जना पुनः कारागार फर्किएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित उनीहरूले आत्मसमर्पण गरेको कारागार प्रशासनले जनाएको छ ।
कारागार प्रशासनका अनुसार सम्पूर्ण फरार कैदीबन्दीलाई उपस्थित भई कानुनी प्रक्रिया तथा विधिको पूर्ण पालना गर्न सार्वजनिक अपिल गरेपछि उनीहरू सम्पर्कमा आएका हुन् ।
नक्खु कारागारमा रहेका तीन ब्लकमा जम्मा १ हजार २८१ कैदीबन्दीमध्ये हालसम्म २०६ जना फर्किसकेका र केही सम्पर्कमा आइसकेको जानकारी सूचना अधिकारी मुरारी कार्कीले दिनुभयो ।
कारागार प्रशासनले फरार सबैलाई कानुन र सामाजिक उत्तरदायित्वप्रति सम्मान प्रकट गर्दै तुरुन्त आत्मसमर्पण गर्न र सार्वजनिक शान्ति तथा सुव्यवस्था कायम गर्न सहयोग पुर्याउन आग्रह गरेको छ । साथै, सम्पर्कमा नआएकाहरूलाई कारागार ऐन, २०७९ तथा अन्य प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी दिँदै, आत्मसमर्पण गर्नेहरूको हकहितको रक्षा गर्दै पुनःस्थापना प्रक्रियामा आवश्यक सहजीकरण उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।


