Wednesday, June 3, 2026
Homeमुख्य समाचारधामीझाँक्रीको कुटाइबाट मृत्यु भएकी महिलाको शव फरेन्सिक परीक्षणपछि अन्त्येष्टि

धामीझाँक्रीको कुटाइबाट मृत्यु भएकी महिलाको शव फरेन्सिक परीक्षणपछि अन्त्येष्टि

धामीझाँक्रीको कुटाइबाट मृत्यु भएकी कञ्चनपुरकी रन्चुला साउदको अन्त्येष्टि गरिएको छ । गत शनिबार मृत अवस्थामा भेटिएकी साउदको शव सोमबार फरेन्सिक विज्ञको टोलीले परीक्षण गरेपछि अन्त्येष्टि गरिएको हो । सामान्य बिरामी भएकी साउद चैत ३० गते जेठानी नाता पर्ने कमला साउदको घरमा गएकी थिइन् । परिवारका अनुसार धामीसँग झारफुक गराइरहेकी उनी वैशाख १ मा बेहोस भएकी थिइन् ।

३ दिनसम्म पनि होस नआएपछि शनिबार आफन्त तथा छिमेकीले हेर्दा उनी मृत अवस्थामा फेला परेकी हुन् । यसबीचमा धामीले परिवारका सदस्यलाई समेत उनको नजिक जान नदिएको पीडित पक्षको भनाइ छ । बिरामी बेहोस अवस्थामा रहेको र धामीले परिवारका सदस्यलाई समेत नजिक जान नदिएपछि सशंकित बनेका आफन्त तथा छिमेकीले प्रहरीलाई खबर गरेपछि घटना सार्वजनिक भएको हो ।

मृतककी छोरी सरिताका अनुसार झारफुकका नाममा धामीले तीन दिनसम्म ढाँटेर राखेका थिए । आमा बेहोस भएकोबारे अरुलाई भने आफूलाई पनि बिरामी पार्ने धम्की धामीले दिएपछि घटनाबारे कसैलाई भन्न नसकेको उनको भनाइ छ ।

मृतककी छोरी सरिताका अनुसार झारफुकका नाममा धामीले तीन दिनसम्म ढाँटेर राखेका थिए । आमा बेहोस भएकोबारे अरुलाई भने आफूलाई पनि बिरामी पार्ने धम्की धामीले दिएपछि घटनाबारे कसैलाई भन्न नसकेको उनको भनाइ छ ।

रन्चुलाको मृत्युबारे सत्यतथ्य पत्ता लगाउनकै लागि प्रहरीले फरेन्सिक विज्ञमार्फत शव परीक्षण गर्नुपरेको जनाएको छ । मृतकका परिवारले झारफुकमा संलग्न धर्मानन्द भट्ट, नारायण भट्ट, कुवेर सिंह साउद, कमला साउद, गौरी साउद लगायतविरुद्ध किटानी जाहेरी दिएका छन् । प्रहरीले फरेन्सिक परीक्षणको रिपोर्ट आएपछि मृत्युको कारण पत्ता लाग्ने जनाएको छ । हाल घटनाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका