काठमाडौँ । धनुषा डिष्टिलरी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
यससम्बन्धी सम्झौतामा मुक्तिनाथ क्यापिटलको कार्यालयमा आयोजित कार्यक्रममा धनुषा डिष्टिलरीका अध्यक्ष किसन कुमार धनावत र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।
कम्पनीका अनुसार भविष्यमा जारी पुँजीको २० प्रतिशत साधारण शेयर सर्वसाधारणका लागि निष्कासन गरिनेछ । आईपीओ निष्कासनसम्बन्धी आवश्यक प्रक्रिया पूरा गरेपछि शेयर सर्वसाधारणका लागि जारी गरिने कम्पनीले जनाएको छ ।
सन् १९९८ मा स्थापना भएको धनुषा डिष्टिलरीले उद्योग विभागबाट उत्पादन तथा बजारीकरणको दर्ता प्रमाणपत्र प्राप्त गरी मदिराजन्य उत्पादन गर्दै आएको छ । कम्पनीको वार्षिक उत्पादन क्षमता ९१ लाख ८० हजार लिटर रहेको जनाइएको छ ।
कम्पनीले हाल मुख्य रूपमा ‘मुस्ताङ गोल्ड’ ह्विस्की र ‘मुस्ताङ’ भोड्का उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । आगामी दिनमा थप नयाँ उत्पादन बजारमा ल्याउने तयारीसमेत कम्पनीले गरेको जनाएको छ ।
उत्पादनको गुणस्तर कायम राख्दै उत्पादनमा विविधीकरण तथा विस्तार गर्ने र नेपाली बजारसँगै अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धा गर्न सक्षम बन्ने लक्ष्य कम्पनीले लिएको छ ।


