जलजले (दैलेख), १७ भदौ । दैलेखको भैरवी गाउँपालिका–१ स्थित जलजले क्षेत्रमा भएको अन्वेषणबाट ठूलो मात्रामा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको भण्डारण पुष्टि भएको छ । चीनको जियोलोजिकल सर्भे कम्पनी र नेपालका प्राविधिकको संयुक्त अन्वेषणबाट चार हजार १३ मिटर गहिराइमा गरिएको पहिलो ड्रिलिङबाट एक अर्ब १२ करोड घनमिटर मिथेन ग्यास भेटिएको हो ।
यो नतिजा जम्मा चार सम्भावित कुवामध्ये पहिलोको मात्र प्रारम्भिक परिणाम हो । बाँकी तीन कुवासहित जलजले क्षेत्रमा करिब ४३० अर्ब घनमिटर ग्यास रहने अनुमान गरिएको छ, जसले करिब ५० वर्षसम्म नेपालको ग्यास आवश्यकतामध्ये ठूलो हिस्सा धान्न सक्ने सम्भावना देखिएको छ ।
सन् २०२५ को डिसेम्बरसम्म पेट्रोलियम अन्वेषणको विस्तृत प्रतिवेदन आउनेछ । त्यसपछि मात्रै उत्खनन र व्यावसायिक उत्पादनतर्फ अघि बढ्ने परियोजनाका भूगर्भविद्हरूको भनाइ छ ।
सरकारले व्यावसायिक उत्पादनको सम्भाव्यता अध्ययनका लागि नेपाल आयल निगमका निर्देशक विनितमणी उपाध्यायको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ । समितिले दैलेख र सुर्खेतमा स्थलगत अध्ययन गरिसकेको छ । ग्यासको सदुपयोग, आवश्यक पूर्वाधार र लागतबारे अध्ययन भइरहेको निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले बताए ।
नेपाल–चीन सरकारबीच सन् २०१९ मा भएको सम्झौतापछि दैलेखमा सुरु भएको यो अन्वेषण चीनको जियोलोजिकल सर्भेको पूर्ण अनुदानमा सञ्चालन भइरहेको छ । करिब २ अर्ब ५० करोड रुपैयाँ लागतको नमूना परियोजनाले स्थानीयमा रोजगारी र उद्योगमैत्री वातावरण सिर्जना हुने अपेक्षा गरिएको छ ।


