काठमाडौँ, ६ साउन — हाल देशभर मनसुनी वायुले सक्रिय प्रभाव जमाएको छ भने मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमै अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भू–भागका केही स्थानहरूमा र अन्य क्षेत्रका छिटफुटा भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
आज रातिसमेत देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायतका पहाडी भू–भाग तथा देशका अन्य भागहरूमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहँदैछ। कोशी, बागमती र गण्डकीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना यथावत् रहेको महाशाखाले जनाएको छ।


