काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणाली सक्रिय नभएको बताएको छ। महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली देखिए पनि अन्य अधिकांश भूभागमा मौसम मुख्यतया सफा छ, भने लुम्बिनी प्रदेशका केही भागमा हुस्सु र तुवाँलो लागेको छ।
आज दिउँसो कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। बाँकी प्रदेशमा मौसम सफा रहने महाशाखाले जनाएको छ। रातिको समय पनि देशभर सामान्यतया सफा मौसम रहनेछ।
काठमाडौँ उपत्यकाको तापक्रम क्रमशः घट्दै गएको महाशाखाले जानकारी दिएको छ। आज बिहान ५:४५ बजे उपत्यकाको न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियस मापन गरिएको छ। हिजो सोमबार न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस रहेकाले आज उपत्यकामा चिसो थप बढेको देखिन्छ।


