काठमाडौँ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा साधारणतया बदली रही अन्यत्र आंशिक बदली भएको छ। बागमती र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा भइरहेको छ।
आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली तथा तिनका सहायक नदीहरू, साथै कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तहभन्दा तल छ। तर, महाकाली नदीको बहाव सतर्कता तह आसपास पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
आइतबार सिन्धुपाल्चोक, रसुवा, धादिङ, लमजुङ र आसपासका जिल्लाबाट बहने स–साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना रहने अनुमान छ। यस्तै नुवाकोट, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, मुगु, जुम्ला, सुर्खेत, दैलेख, बैतडी, डडेलधुरा र आसपासका जिल्लामा पनि केही नदीमा आकस्मिक बाढीको मध्यम सम्भावना रहेको महाशाखाले चेतावनी दिएको छ।




